सम्पादकिय

प्रचण्डको आत्मघाती अभिव्यक्ति

एकजना धनाड्डय तानाशाह ब्याक्ति न्यायको कुर्सीमा बसेको थियो। उसका दायाँ बायाँ देशका एक से एक बिद्द्वानहरु कानूनका ठेली लिएर तयार अवस्थामा थिए। सुरक्षाको लागि सुरक्षाकर्मीहरु चनाखो अवस्थामा थिए। मंचभन्दा बाहिर सयौं मान्छेहरु अपराधीलाई कसरि र कस्तो सजायं मिल्छ भनेर साह्रै उत्सुकताका साथ उँभिएका त थिए तर, सबैले आ-आफ्नो गर्धन झुकाएका थिए। सबै चुप थिए, सबैले श्वास रोकिएलाझैं गरेर भित्र भित्रै दबाऊने कोसिस गर्दथे। कारण धनाड्डय तानाशाहको आँखा तिनिहरु माथी पनि नपरोस। यत्तिकैमा धनाड्डयले ठूलो स्वरमा भन्यो- अपराधीलाई एक एक गरेर मेरो सामुन्ने खडा गर र भन कि कुन अपराधीले कुन अपराध गरेको हो।

सानो अपराध त हो नि भन्ने भ्रममा पर्दैगर्दा हामीले ठूलै अपराध गरिरहेका हुन्छौं भन्ने सायद हामीलाई हेक्का हुन्न, तर पनि हामी फेरि भन्नेगर्दछौं- त्यो न्याय थियो, अपराध होईन भनेर- खलिल जिब्रानको उपन्यासबाट साभार माथीका यी दुई हरफहरु एकपटक पुनश्च: प्रचण्डको हिंजोको अभिव्यक्तिसंग जोडेर हेर्न मन लाग्यो।

प्रथमत: हामी त्यो देशका बासिन्दा हौं, जहाँ हाम्रा शाषकले खुलेआम ५ हजार नागरिक मारेको खुलेआम छाती फुलाएर स्विकार्छ। स्विकार्छ मात्र होईन उत्तिकै गर्वसाथ सार्वजनिक रुपमैं कुर्लिन्छ- हो, १७ हजारमध्ये ५ हजार मैले मारेको हुँ, अर्थात मेरो नेतृत्वको पार्टिका नेता कार्यकर्ताले मेरै निर्देशनमा मारेका हुन र त्यसको भागिदार म हुँ, त्यसको जिम्मा तपाईं मलाई दिनुहोस, म जिम्मा लिन तयार छु भनेर सार्वजनिकरुपमैं भनिरहँदा तरररर तालीको गुन्जावटले प्रचण्डको अपराधलाई अनुमोदन गर्ने हामी त्यहिं देशका नागरिक हौं।

एकजना होईन, दूईजना हैन, कथित जनयुद्धमा मारिएका त १७ हजारभन्दा बढि हुन। १७ हजारमध्ये पनि ५ हजार आम नागरिकको कत्लेआम गरेको मैले हो भनेर भन्दा मंचबाट तररर ताली र गडगडावट गुन्जिनुले के हामीले हामीलाई नागरिकको दर्जामा राख्न मिल्छ? यौटा युद्धअपराधीले ५/५ हजार आम नागरिक मारेको स्विकार्छ- मंचबाट तालीको वर्षा हुन्छ। यस्तो दृष्यले पनि मानवजातीलाई मानवकै वर्गमा राख्न सुहाऊला र?

हामी नागरिक कि रैती? कि हाम्रो मूल्य नै नभएको हो? जनयुद्धको नाममा मुला छप्काएझैं आम नागरिक छप्काईयो। जसले नागरिक छपछपति छप्काए, तिनैले यो देशको वागडोर सम्हालेका छन, यो देशका भाग्यविधाता बनेका छन। अन्तत: यति हजार मान्छे मारेको मैले हो- त्यसको जिम्मा म लिन्छु भन्दा दर्शकदिर्घाबाट तालीको गडगडाहटले संकेत के गर्छ? हामी जनता के सांच्चिकै संवेदनाहिन र विवेकहिन भएकै हौँ त? हामीले खोजेको परिवर्तनमा हामी दासी नै हुनुपर्छ, शाषकले मनपरी बोल्न र गर्न पाऊनुपर्छ भन्ने हाम्रो स्विकारोक्ति हो?

आखिर दास मानशिकता बोकेका हामी नागरिक रहेछौं, जो कहिल्ल्यै सुध्रीन चाहन्नौं। हामीलाई परिवर्तन, स्वतन्त्रता र विकाश त चाहिएको छ- तर हामी दास मानशिकताबाट भने उम्किन चाहन्नौं। यदि हामीमा परिवर्तनसंगै चेतना पनि पलाऊँथ्यो भने आज कसैले ५/५ हजार जना मान्छे मारेको दुत्कर्म यौटा सार्वजनिक ठाऊँमा छाती फुलाएर भाषण गर्दैगर्दा सायद हामीले तालीको गडगडाहाटले उक्त अपराधपूर्ण अभिब्यक्तिलाई अनुमोदन गर्दैनथ्यौं होला।

यौटा सभ्य एवं शिक्षित समाजले सहि र गलत के हो यसबारेमा निरन्तर जनाकार एवं सचेत रहन्छ भने हाम्रोजस्तो समाजले अपराधलाई पनि हदैसम्म अनुमोदन गर्दोरहेछ भन्नेकुरा हिंजोको दृष्यले देखाएको छ। सम्भवत: कानूनको पालना गर्ने सभ्य एवं समृद्ध देशहरुमा सायद यतिखेर युद्धअपराधीहरु युद्ध अपराधको आरोपमा कानूनका भागिदारी भोगिसकेका हुन्थे। तर, हाम्रोमा विडम्वना नै भन्नुपर्छ, युद्धअपराधीले ५/५ हजार मान्छे मारेको मात्र स्विकार्दैन, उल्टै देश र जनताको भाग्यविधाता बनेर राज्यको निर्णायक भूमिकामा उँभिएको हुन्छ र हामी नागरिकले त्यस्ता युद्धअपराधीलाई निरन्तर अनुमोदन गर्दै आईरहेका हुन्छौं।

एकातर्फ जनयुद्धको औचित्य आजका दिनसम्म पनि पुष्टि हुन सकिराखेको छैन भने अर्कातर्फ हिजो सर्वहारावर्गको मुक्तिको लागी भनेर राज्यसत्तासंग लडेको माओवादी नेताहरु शान्तीप्रक्रियामा आएदेखिको आश्चर्यलाग्दो जिवनशैली देखेर सबैले जिब्रो टोक्दैगर्दा प्रचण्डको हिंजोको स्विकारोक्तिले केहि समर्थकहरुको ताली पाएता पनि नेपाली राजनितिले फेरि एकपटक तरंगित हुनुपरेको छ। अलिक धेरै भिड र तालीको गडगडाहट देख्यो कि हौसिईहाल्ने बानीले गर्दा प्रचण्डका बेलाबेलाका अभिब्यक्तिले नेपाली राजनिति तरंगित हुनेगरेको छ भने प्रचण्डले आफ्ना अभिब्यक्तिहरुलाई अवसर, प्रयोग र घुर्कीका रुपमा प्रयोग गर्दै आएका छन।

“१७ हजारमध्ये ५ हजारको जिम्मेवारी लिन्छु” माघी पर्वको अवसरमा हिजो प्रचण्डले बोलेको अभिव्यक्ति हो यो। ५ हजारको जिम्मेवारी लिएर प्रचण्डले गर्ने के हुन? अनि ५ हजार मान्छे मार्नु भनेको के चानचुने कुरा हो? ५ हजार संख्या के सानो संख्या हो? ५ हजार मान्छे त मरे, तर ती ५ हजार मान्छेसंग जोडिएका अन्य मान्छेको जीवन तहसनहस भयो कि भएन त? त्यसको जिम्मा कसले लिने? मर्ने र मारिने त गईहाले, तिनिहरुसंग सम्बन्धित अन्य परिवार र जिवनको केकस्तो विजोग छ, समुदायमा कसरी बाँच्नुपरेको छ, जिन्दगीको गर्जो कसरी चलेको छ? पीडा कसरि पिएर बाँचेका छन? के यस्ता सवालले प्रचण्डको मन पग्लिएला त?

हो, प्रचण्डले ५ हजार मान्छे मारेछन। आफै स्विकार गरेको यस आततायी हर्कतले गर्दा अब प्रचण्डले अपराधको भागिदार बन्ने कि नबन्ने त? युद्धअपराधको आरोपमा नेपालको प्रचलित कानून आकर्षित हुने कि नहुने त?

मुलुकी अपराध संहिता ऐन २०७४ भाग २ को परिच्छेद १ ले राज्यविरुद्ध कसूर गर्ने कसूरदारलाई सजांयको व्यवस्था गरेको छ। उक्त परिच्छेदको दफा ४९ को उपदफा १ र २ अनि दफा ५२ को उपदफा २ को खण्ड `क´, दफा ५३ को उपदफा १ र २ तथा दफा ५७ को उपदफा १ र २ मा राज्यको विरुद्ध कसूर गर्ने जोसुकैलाई पनि जन्मकैदको ब्यवस्था गरेको छ।

जनयुद्धका बिरुद्ध प्रमाण संकलन गरिरहेकाहरुका लागि हिंजोको प्रचण्डको अभिव्यक्ति निकै ठूलो प्रमाण हो। जोसमा होस गुमाऊने प्रचण्डले युद्धअपराधको नाममा नेपालमा प्रचलित कानूनबमोजिम जन्मकैदको सजायं भोग्नुपर्ने हुन्छ।

युद्धअपराधको नाममा प्रचण्ड जेल जालान र जन्मकैदको सजायं भोग्लान भनेर त हामीले कल्पना पनि नगरौं। प्रचण्ड सत्ता र शक्तिको नजिक होऊन्जेल र समग्र राज्यप्रणालीमाथी कब्जा जमाऊंदासम्म प्रचण्डलगायतका युद्धअपराधीहरु जेल जानू त परैको कुरा, नेपालको कानूनले समेत छुन सक्नेछैन।

सानालाई ऐन, ठूलालाई चैन- नेपालको कानून त्यसै भनिएको हैन। ५/५ हजार आम नागरिकको कत्लेआम गरेको स्विकार्ने प्रचण्डजस्ता नेताहरुलाई नेपालको कुनैपनि कानूनले छुन नसक्नु र सामान्य कसूरमा आम नागरिल धरपकडमा पर्नुको सायद यहिं दृष्टान्त हुन्छ कि- कानूनका आँखा पनि बिभेदकारी छन यो देशमा।

भोलीका दिनमा राजनितिमा भुईँचालो नै आएछ भने अलग कुरा हो, नत्र आजका दिनसम्म अन्तर्राष्ट्रिय अदालत हेग गएर बिश्वमाझ झनै हिरो भएर निस्किन्छु भन्ने प्रचण्डको धम्की र ५ हजार मान्छे मारेको जिम्मा मलाई दिनुहोस भनेर खुल्लमखुल्ला गर्वले बोल्नुमाझ कुनै तात्विक अन्तर पर्नेवाला छैन, नेपालका कुनै पनि कानून, नियम र अदालतले प्रचण्डलाई छुनेसम्म छैन। हामी जनताले पनि ५/५ हजार मान्छे मारेको होस भनेर औंला उठाऊने पनि छैनौं जवसम्म यो देशमा प्रचण्डहरु निर्वाध भाषण गरिरहनेछन तवसम्म, हामीले यौटा युद्धअपराधीले अपराध गरेको हुँ भन्दासम्म ताली बजाऊन छोड्दैनौं।

यो देशको दुर्भाग्य नेता होईनन, हामी जनता नैं हौँ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button