सम्पादकिय
ट्रेन्डिङ

श्रद्धाञ्जली दिन किन यतिविघ्न हतारो?

ल ठिकै छ धन्न भरतमोहन अधिकारीको निधन भैहाल्यो। स्वासप्रश्वास र फोक्सोमा समस्या देखिएपछि ह्याम्स अस्पतालमा उपचाररत ८२ बर्षिय पूर्व उपप्रधान एवं अर्थमन्त्री एवं पार्टि एकिकरणपूर्वका तत्कालिन एमाले नेता भरतमोहन अधिकारीको हिजो राती ९ बजेर ४५ मिनेटमा अस्पताल प्रशासनले सार्वजनिक सूचना जारि गरेर आधिकारिक रुपमैं मृत्यु भएको पुष्टि गरेको थियो। हार्दिक श्रद्धाञ्जली भरतमोहन अधिकारीप्रति।

मूलधारका भनिएका कतिपय अनलाइन, पत्रपत्रिका र रेडियो टिभिहरुमा भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भनेर समाचार सम्प्रेषित भैरहंदा यता सामाजिक संजाल फेसबुक र ट्विटरमा उनलाई श्रद्धाञ्जली दिनेको एकाएक बाढि नै आयो। सामाजिक संजालमा उनीप्रति दिईएको श्रद्धाञ्जलीको वेग हेर्दा यस्तो लाग्दथ्यो, मान्छेले संसार रोकेरै भएपनि , श्वास रोकेरै भएपनि र समयलाई रोकेरै भएपनि उनको फोटोसहित श्रद्धाञ्जली लेखेर सामाजिक संजालमा पोष्ट्याऊन र मनग्ये लाइक कमेन्ट बटुल्न पाए आफ्नो मृत्यु टरि पो हाल्छ कि भन्नेझैं गरेर एकप्रकारको चर्को प्रतिष्पर्धा नै थियो। यतिमात्र कहाँ हो र अझ कतिपय गैरजिम्मेवार अनलाइन मिडियाहरुले अत्यन्तै भ्रम फैलाऊनेगरि समाचार सम्प्रेषण गर्दैथिए भने मान्छेहरु त्यस्ता हावा न्यूजको पछाडि राखेर धमाधम सेयर र प्रतिक्रियाको होडबाजीमा थिए। सामाजिक संजालमा तिनिहरुको श्रद्धाञ्जलीमोह देख्दा लाग्दथ्यो मानौं, यी विचरा श्रद्धाञ्जली मोहधारीहरु सवै पृथ्वीको दक्षिणी गोलार्धमा कुन मान्छे कतिखेर मर्छ भनेर भनेर समय कुरेर बसिरहेका छन र उक्त मान्छेलाई जतिसक्यो छिटो श्रद्धाञ्जली भन्न सकियो, श्रद्धाञ्जली लेखेबापत हुत्तिएर पृथ्वीको उत्तरी गोलार्धमा रहेको सुनको मेडल हत्याऊन पाइन्छ कि भन्ने मोहले तिव्र प्रतिस्पर्धा गरेको भान मिल्दथ्यो।

“लौ आयो भर्खरै अस्पतालबाट अर्को यौटा दुखद खबर” “अधिकारीहरुलाई यो बर्ष साह्रै नराम्रो बर्ष, एकैहप्तामा दुई अधिकारीको मृत्यू” जस्ता अनेकन तुच्छ शीर्षक राखेर कतिपय गैरजिम्मेवार हावा अनलाइनहरुले निरन्तर समाचारको नाममा भ्रम र आततायी फैलाऊंदै थिए भने मान्छेहरु तिनैका पछाडी सेयर र श्रद्धाञ्जली दिनका लागि कम्मरदेखिकै बल लगाएर तिव्र प्रतिष्पर्धामा थिए। अझ कतिपयले त यहाँसम्म भन्न भ्याए कि हुने हार दैव नटार, आखिर ढिलोचाँढो उनी मृत घोषित भैहाल्छन, पृथ्वीको यो चक्रलाई कसैले रोक्न सक्तैन। त्यसैले के फरक पर्यो र भन्नसमेत भ्याएका थिए।

हो, मृत्यु शाश्वत सत्य हो। हरेक जिवित निशाचरहरुको क्रूर सत्य भनेको मृत्यु नै हो। जीवन त केवल यौटा मीठो झुठमात्र हो। यो हरेक चेतनशिल प्राणीलाई थाहा भएकै कुरा हो। तर, मृत्यु शाश्वत सत्य हो भन्दैमा यौटा चेतनशिल प्राणी भएको नाताले कसैको मृत्युमाथी मजाक त गर्न भएन नि ! आफ्नो मान्छे गुमाऊनुको पीडा के हो र कस्तो हुन्छ भनेर जान्न आफै त्यस्तो पिडादायी अवस्थाबाट गुज्रिनुपर्दछ र बल्ल थाहा लाग्दछ। अस्पतालमा उपचाररत मान्छेलाई पहिल्ल्यैदेखि श्रद्धाञ्जली भनेर लेखिदिंदा परिवार तथा आफन्तजनमा कस्तो खालको पीडा भएको होला? हामी किन जानाजान तनावग्रस्त परिवारमा झन पीडा थप्ने काम गरिरहेका छौं त? हामीलाई श्रद्धाञ्जली दिन किन यतिसाह्रो हतारो? जिऊंदै मान्छेलाई श्रद्धाञ्जली दिएर हामी कुन लोकमा जान खोजेका हौं या हामीले के छोप्न खोजेका हौं? घरको एक सदस्य गम्भीर बिरामी परेर अस्पतालमा छटपटाईरहेको छ, परिवारमा त्यसै मानशिक तनाव छ, त्यसमाथी मृत्युअंगावै श्रद्धाञ्जली लेखिदिंदा हामीले उक्त तनावग्रस्त परिवारमाथी झनै पीडा थप्यौं या अग्रिम राहत दिन खोजेका के हौं? स्वयं बिमारी एवं उनका आफन्तजनमा मृत्युअंघावै श्रद्धाञ्जली लेखेर हामीले उनीमाथी कस्तो न्याय दिन खोजेका हौं? हाम्रो हतारोले बिमारी एवं उनका आफन्तजनमा पर्न गएको थप मानशिक तनावको क्षतिपूर्ति कसले दिने? उनीहरुमाथी भएको अन्यायको भर्पाई कसले गरिदिने?

हामीलाई श्रद्धाञ्जली लेख्न किन यतिविघ्न हतारो? मान्छेको मृत्युपश्चात मात्र श्रद्धाञ्जली लेखिदिए हुन्न र? मृत्युको आधिकारिक पुष्टि भएपछिमात्र श्रद्धाञ्जली दिए हुन्न र या मृत्युको एक/दुई दिनपछि श्रद्धाञ्जली दिंदैमा धर्ती फाट्ने आकाश खस्ने त हुने होईन होला। हामीले श्रद्धाञ्जली लेख्दैगर्दा उक्त ब्याक्ति जिवित नै रह्यो भने के हुन्छ? जिऊंदोलाई श्रद्धाञ्जली दिईराख्ने? यसअंघि पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई मान्छेहरु रातभर लगाएर श्रद्धाञ्जली दिईरहे। बिहान उठ्दा राष्ट्रकवि रेडियो, टिभी, पत्रपत्रिकामा मज्जाले हांसेका तस्विर, अडियो भिडियो सार्वजनिक भैरहे। यौटा जिऊंदो ब्याक्तिलाई स्वघोषित रुपमा मारेर श्रद्धाञ्जली भनेर लेखिदिंदा उक्त ब्याक्तिको मन कत्तिको बिक्षिप्त हुन्छ होला? उसका परिवारजन अनि आफन्तीमा कुन प्रकारको विचलन आऊँछ होला, यसवारेमा हामिले कहिल्ल्यै हेक्का राखेका छौं?

आखिर हामी कता जांदैछौं? सामाजिक संजाल लक्षित हाम्रो यात्राको मूल उद्देश्य के हो? किन अफवाह र हल्लाको पछाडि दौडिन्छौं हामी? हामीलाइ पुग्नुपर्ने कहाँ हो? सामाजिक संजालका लाइक र प्रतिक्रियाले हामिलाई बनाऊंछ के र दिन्छ के त? धेरै लाइक कमेन्ट आए बादसाह र थोरै लाइक कमेन्ट आए रैती बनिने त होईन। मृत्युअंघावै श्रद्धाञ्जली दिनेको तंछाडमछाड देख्दा लाग्छ, जतिधेरै सद्भाव र लाइक कमेन्ट बटुल्न सकियो, उति नै हिरो, बादसाह बन्छु भन्ने मानशिकताले ग्रसित भएको देखियो। जुन अति घातक प्रवृति पनि हो।

सामाजिक संजाल यौटा प्लेटफर्म हो। ब्याक्तिगत अवधारणादेखि लिएर सामुहिक चिन्तनको चौतारी हो। सामाजिक संजालको प्रयोग कसरि गर्ने भन्नेमा ब्याक्तिउपर भरपर्ने कुरा हो। मान्छे कस्तो प्रवृतिको छ भनेर बुझ्न आजकल मान्छेसंग भेटेरै घुलमिल हुनुपर्दछ भन्ने छैन। सरसर्ती मान्छेको प्रोफाईल हेरे मान्छेको प्रवृति सहजै पत्ता लगाऊन सकिन्छ। यस्तोमा आफूले ईच्छा लागेको ब्याक्तिसंग सामाजिक संजालमा जोडिने गरिन्छ र सोहिअनुरुपको यौटा समूह संजाल पनि बन्दछ। सामाजिक संजालको सहि सदुपयोग गरि आफ्नो सभ्यताको परिचयलाई यथावत राख्न पनि सकिन्छ। हल्लाको पछि यौटा विश्वसनिय आधार, प्रमाण र सूत्रहरु खोज्न सके निश्चय पनि आगामी दिनहरुमा जिऊंदोलाई श्रद्धाञ्जली दिनेसम्मका घटना घट्ने थिएनन कि?

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button