स्वास्थ्य

कोरोना भाईरसबाट हालसम्म २१० को मृत्यु, विश्व स्वास्थ्य संगठनद्वारा संकटकालको घोषणा

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो ।

गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको थियो । ‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’ का रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ । यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २१३ जनाको मृत्यु भएको जनाएको छ । हुबेई प्रान्तका अधिकारीका अनुसार बिहीबार मात्रै थप ४२ जनाको मृत्यु भएको हो । त्यस्तै झन्डै १० हजार व्यक्तिमा यसको संक्रमण देखिएको छ । शुक्रबार बिहानसम्म ९६९२ जनामा यसको संक्रमण भेटिएको चीनले जानकारी दिएको छ । बिहीबार मात्रै थप १९८२ जना संक्रमित भेटिएका हुन् ।

नोवल कोरोना भाइरसको संक्रमण चीनका सबै क्षेत्रमा फैलिएको छ । बिहीबार तिब्बतका एक व्यक्तिमा भाइरसको संक्रमण देखिएसँगै यो चीनका सबै क्षेत्रमा पुगेको हो ।

चिनियाँ सञ्चारमाध्यमका अुनसार वुहानबाट तिब्बत पुगेका ३४ वर्षीय एक पुरुषमा बिहीबार भाइरसको संक्रमण भेटिएको हो । जनवरी २५ मा रेलबाट त्यहाँ पुगेका उनलाई त्यसै दिन अस्पताल भर्ना गरिएको अधिकारीले बताएका छन् । संक्रमितको स्वास्थ्य स्थिर रहेको र सूक्ष्म निगरानीमा राखिएको राज्य सञ्चालित ‘चाइना डेली’ ले उल्लेख गरेको छ ।

कोरोना भाइरस मानिसमा प्रवेश गरेको १० दिनभित्र देखिन्छ लक्षण
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १५ देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का एक विज्ञले भाइरसको संक्रमण कम्तीमा अझै १० दिन फैलन सक्ने बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीले सार्स र इन्फ्लुएन्जा भाइरसजस्तै कोरोना बढी उमेर समूह र पहिले नै श्वासप्रश्वाससम्बन्धी रोगको समस्या भएका मानिसका लागि निकै जोखिमयुक्त रहेको बताएका छन् ।

चीनबाहिर २० देशमा कोरोना भाइरसको संक्रमण फैलिए पनि अहिलेसम्म कसैको मृत्यु भएको छैन ।

वुहानमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले त्यहाँबाट निकाल्न आग्रह गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल, फोन र पत्रमार्फत आफ्ना सरकारलाई जतिसक्दो चाँडो निकाल्न आग्रह गरेका हुन् । भाइरस संक्रमण फैलन थालेपछि वुहानमा अत्यावश्यकबाहेकका अन्य क्षेत्र बन्द छन् । यसरी आग्रह गर्नेमा धेरैजसो दक्षिण एसियाली राष्ट्रका विद्यार्थी छन् ।

पाकिस्तानले वुहानमा ५ सय विद्यार्थी र उनीहरूका परिवार रहेको जनाएको छ । उसले भाइरसनिगरानीमा आवश्यक पर्ने सतर्कताका कारण उनीहरूलाई स्वेदश फर्काउन अप्ठेरो भइरहेको बताएको छ । बंगलादेश र भारतले भने विमानलाई तयारी अवस्थामा राखेको जनाएका छन् ।

केही दिनअघि चिनियाँ विदेश मन्त्रालयले गरेको आग्रहविपरीत कैयौं राष्ट्रले आफ्ना नागरिक फिर्ता लगेका छन् । केहीले फिर्ता लाने तयारी गरिरहेका छन् । अमेरिकाले बुधबार २ सय अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई वुहानबाट फिर्ता लगेको छ । उसले थप मानिस फिर्ता लाने तयारी गरिरहेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार वुहानमा बाँकी रहेका अमेरिकी नागरिकलाई फेब्रुअरी ३ भित्र फिर्ता लगिनेछ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button