समाज

निर्मला प्रकरण छानविनमा गल्ती भएको प्रहरिको स्विकारोक्ति, नयाँ ढंगले अनुसन्धान गरिने

निर्मला हत्या प्रकरणमा प्रहरीले विगतमा भएका अनुसन्धानमा कमजोरी भएको निष्कर्ष निकाल्दै सच्याएर अघि बढ्ने बताएको छ ।

प्राविधिक रुपमा भएका कमजोरी सच्याएर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

२०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया निर्मला पन्त प्रकरणमा अभियुक्तको पहिचान नहुँदा प्रहरी आलोचनाको केन्द्रमा छ ।

तर प्रहरीले निर्मला हत्यामा दीलिप विष्टकै संलग्नता रहेको निस्कर्ष निकालेको स्रोत बताउँछ ।

दीलिपलाई गत भदौ ४ गते तत्कालीन कञ्चनपुर प्रहरीले मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो ।

तर निर्मलाको स्वावसँग डीएनए नमिलेपछि दीलिपलाई रिहा गरिएको थियो । निर्दोषलाई पक्राउ गरिएको भन्दै कञ्चनपुरमा आन्दोलन सुरु भएको थियो ।

आन्दोलनले उग्ररुप लिँदा प्रहरीको गोली लागेर स्थानीय शनि खुनाको ज्यान गएको थियो । सरकारले घटनाको अनुसन्धान गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

मैनाली नेतृत्वको समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको, दीलिपलाई नक्कली अभियुक्त खडा गरेको निष्कर्ष निकालेको थियो । तर प्रहरी फेरि दीलिप नै मुख्य अभियुक्त भएको निष्कर्षमा पुगेको छ ।

निर्मलाको बलात्कारपछि आफैले हत्या गरेको दीलिपले विभिन्न स्थानमा बताउँदै हिडेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई नै अभियुक्त मानेको छ ।

यसबाहेक अन्य प्रमाण र विगतमा अनुसन्धानको प्रक्रियामा भएका कमजोरी सच्चाएर अघि बढ्ने निष्कर्षमा रहेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

उनका अनुसार दीलिपलाई पक्राउको तयारी भएको प्रहरी स्रोत बताउँछ । निर्मला पन्तकी आमा दुर्गादेवीले समेत दीलिपविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

तर सरकारकै समितिले दीलिपलाई नक्कली अभियुक्त बनाइएको भन्दै प्रतिवेदन दिएको र त्यसमाथि तत्कालीन समयमा अनुसन्धानमा रहेका प्रहरी अधिकृत बर्खास्त र निलम्बनमा रहेकाले के गर्ने भन्नेबारे प्रहरी अन्योलमा पनि छ ।

स्रोतका अनुसार प्रहरीले त्यसबारे कानुनी रायसमेत लिएको छ । हाल कञ्चनपुर प्रहरीको नेतृत्व एसपी मुकुन्द मरासिनीले गरिरहेका छन् ।

मरासीनी दुई महिनाअघि मात्रै कञ्चनपुर गएका थिए । कञ्चनपुर पुगेलगत्तै उनले निर्मलाकी आमालाई भेटेर अपराधीलाई कानुनी दायरामा ल्याउने बताएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखा, जिल्ला प्रहरीको टोली अनुसन्धानका सक्रिय छ ।

एक प्रहरी अधिकारीले भने,‘‘अनुसन्धानबाट दीलिप नै अभियुक्त भएको निष्कर्ष निकालेका छौं । कानुनी पाटोमा केही जटिलता छन् । त्यसलाई कसरी हल गर्न सकिन्छ, सोचिरहेका छौं ।’’

अनुसन्धानकै लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयबाट डीएसपी गौतम केसीसहित प्रहरी अधिकृत कञ्चनपुर पुगेका छन् ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डीएनए विशेषज्ञ जीवनप्रसाद रिजाल नेतृत्वमा गठित छानबिन समितिले डीएनएको नमूना परीक्षणमै त्रुटि भएको निष्कर्ष निकालेपछि प्रहरी दीलिप नै अभियुक्त भएको निष्कर्षमा पुगेको हो ।

रिजाल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

प्रहरीले दीलिपसिंह विष्टलाई नै अभियुक्त बनाएर मुद्दा दायर गर्ने योजना बनाएको बताइएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button