स्वास्थ्य

बुहानका बन्द कोठामा रहेका नेपाली भन्छन- नेताहरुको मानवता हराएछ

कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् । अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा नेपालीलाई फर्काउन सकिएको छैन ।

दुई सातादेखि बन्द कोठामा रहेका नेपाली विद्यार्थीले निराश भएर शनिबार फेरि सरकारलाई पत्र लेखेका छन् । उनीहरूले शुक्रबार पनि दुई दिन पर्खने र आफूहरूलाई फिर्ता नगरे अन्तर्राष्ट्रिय निकाय गुहार्ने चेतावनी दिएका थिए ।

सरकारले आवेदन फाराम भर्न लगाएको एक साता बित्दा पनि फिर्ता ल्याउन गम्भीर नबनेको भन्दै नेपाली विद्यार्थी आक्रोशित बनेका छन् ।

प्रधानमन्त्री केपी ओलीले नेपालीलाई तुरुन्त स्वदेश ल्याउन सम्बन्धित मन्त्रीहरूलाई दुईपटक निर्देशन दिइसके । प्रधानमन्त्रीका सल्लाहकारहरूले चिनियाँ पक्षको कुरा सुनेर ढिलाइ गरेको आरोप नेपाली विद्यार्थीको छ ।

उनीहरूले आफ्नो नाम सञ्चारमाध्यममा आउँदा पढाइमा असर गर्ने भन्दै खुला रूपमा बोल्न मानेनन् ।

विद्यार्थीले शनिबार ‘विनाशकाले विपरीत बुद्धि’ शीर्षकमा परराष्ट्रमन्त्री ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई सम्बोधन गरेर १८१ जनाका तर्फबाट सामूहिक पत्र पठाएका हुन् ।

‘हामीले लगातार नेता र मन्त्रीलाई सम्झाउन खोज्यौं । तर आरामदायी सरकारी कोठामा जनताको करमा मस्तले बस्न पाएकाहरूलाई हाम्रो पीडा सुन्ने फुर्सदै भएन,’ पत्रमा उल्लेख छ, ‘यतिबेला नेपालमा साँच्चै मानवता छायामा परेको रहेछ । आफ्ना लागि सोच्दासोच्दा नेताहरूको मानवता हराएछ ।’

सरकारी व्यवहारका कारण आँखा खुलेको भन्दै उनीहरूले अब आफ्नै तरिकाले लड्ने बताएका छन् । ‘बाहिर काल घुमिरहेको छ । हामी भित्र छौं । सरकारले सुन्दैन, के गर्ने ? ’ उनीहरूले पत्रमा लेखेका छन् । विद्यार्थी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत बाहिर आउने तयारीमा छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर सुरक्षित ढंगले ल्याउन खोज्दा केही ढिलाइ भएको बताए । उनले भने, ‘यही दिन ल्याउने त ठ्याक्कै भन्न सक्दिनँ । अब एकदुई दिनमा ल्याउने गरी निर्णय हुन्छ ।’

ज्ञवालीले केही पूर्वाधार तयार गर्नुपर्ने भएकाले विद्यार्थी ल्याउन ढिलाइ भएको बताए । उनले व्यवस्था मिलाउँदामिलाउँदै एक साता बितेको स्विकारे । ‘केही पूर्वाधार तय गर्नुपर्ने भएकाले समय लागेको हो । अब ढिलो हुँदैन,’ ज्ञवालीले अन्नपूर्णसँग भने, ‘त्यहाँ रहेका नेपालीका बारेमा हामी संवेदनशील छौं ।’ उनले आफू वुहानमा रहेका नेपालीसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताए । उनले भने, ‘यहाँको तयारीमा केही ढिलाइ भएकाले अब नअत्तालिन र संयमता अपनाउन आग्रह गरेको छु ।’

आयोग गुहार्दै अभिभावक

विद्यार्थीका अभिभावक आइतबार राष्ट्रिय मानवअधिकार आयोग पुगेर सरकारले गरेको बेवास्ताप्रति बोलिदिन आग्रह गर्ने तयारीमा छन् । उनीहरुले सन्तान फिर्ताका लागि प्रधानमन्त्री ओलीलाई भेटेर आग्रह गरिसकेका छन् । प्रक्रिया अघि नबढेपछि आयोगलाई गुहार्न लागिएको एक अभिभावकले बताए । आयोले पनि केही नगरे राष्ट्रसंघीय निकाय र शक्ति राष्ट्रका दूतावासमा गुनासो गर्न जाने तयारी उनीहरूको छ ।

अमेरिकीले आफ्ना सबै नागरिकलाई फिर्ता लगिसकेको भए पनि भाइरस संक्रमणमा निधन भएकी महिलालाई संक्रमणको आशंकामा चीनमै उपचार गरिएको थियो । उनको निधन बिहीबार भए पनि शनिबार मात्र जानकारी आएको थियो ।

बेइजिङस्थित अमेरिकी दूतावासका अनुसार ती महिला ६० वर्षकी थिइन् । दूतावासले उनको नाम सार्वजनिक गरेको छैन । हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सात सय ५० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ३४ हजारभन्दा बढीमा संक्रमण भएको खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button