स्वास्थ्य

वाईडबडी जहाजबाट चीनका बिद्यार्थी ल्याऊने तयारी

काठमाडौं // सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ।
    
चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो। निगमले अबको एक÷दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ।
    
चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। “हामी (निगम) आन्तरिक तयारीमै छौँ, सरकारले निर्णय गर्नासाथ वाइड बडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौँ”, उनले भने।
    
मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइड बडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको छ। निगमले पनि नियमित ‘विजिनेस’मा असर नपर्ने गरी वाइड बडी जहाज पठाउने बचन दिइसकेको छ।
    
निगमको वाणिज्य विभागका अनुसार वाइड बडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ। त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ। वाइड बडी जहाज पठाउँदा करीब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ।
    
कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीको जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइड बडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए।
    
उनले भने, “चीनमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज पठाउने विषयमा छलफल भएको छ, हाम्रोतर्फबाट तयारी भएकै छ, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि आफ्नो तयारी गरिरहेकै छ, अब यो विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ, त्यसपछि सबै काम सहज, सुलभ र व्यवस्थित ढङ्गले अघि बढ्छ।”
    
यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपालको निजी क्षेत्र र चीन सरकारको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सको जहाजलाई पनि नेपालीको उद्धारका लागि चीन पठाउने बताइएको थियो तर, चीनबाट नेपाली ल्याउनका लागि हिमालयको जहाज प्रयोग गर्नेबारे औपचारिक छलफल नभएको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीको भनाइ छ। यद्यपि, हिमालय एयरलाइन्सका अध्यक्ष आज काठमाडौँ आएकाले तद विषयमा छलफल हुने उनले बताए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button