विशेष

केजरीवाल करिष्मा भाग-३

केजरीवाल करिष्मा भाग-३

शनिबार भएको दिल्ली विधानसभा चुनावको मतगणना आजबाट सुरू भएको छ।
बिहानबाट सुरू भएको मतगणनाको प्रारम्भिक नतिजाहरूले अरविन्द केजरीवाल नेतृत्वको सत्तासिन आम आदमी पार्टीलाई अगाडि देखाएको छ। मतगणना चलिरहँदा आम आदमी पार्टी ४९ सिटमा अगाडि देखिएको छ।
यसैगरी आम आदमी पार्टीको निकट प्रतिष्पर्धी मानिएको भारतीय जनता पार्टी(भाजपा) १४ सिटमा अगाडि देखिएको छ। मत सर्वेक्षणहरूमा पनि विधानसभाको चुनावमा आम आदमी पार्टीले नै नयाँ सरकार गठन गर्ने देखाएको थियो।
ती सर्वेक्षणहरुमा ६६ सिटमा आम आदमी पार्टी विजयी हुने देखाएको थियो। दिल्ली विधानसभामा ७० सिटका लागि दलहरूबीच प्रतिष्पर्धा छ। गत निर्वाचनमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो। त्यसैगरी बिजेपी ३ सिटमा विजयी भएको थियो।
आज साँझ अबेरसम्म सबै नतिजा आउने अनुमान गरिएको छ।

केजरीवाल करिष्मा भाग -२

भारतको दिल्ली विधानसभामा आम आदमी पार्टी (आप)ले अनपेक्षित बहुमत प्राप्त गरेको छ । कुल ७० सीटका लागि भएको निर्वाचनको मत परिणामअनुसार आपले ६७ सीटमा कब्जा जमाएको छ ।

योसँगै आपले आगामी ५ वर्षका लागि दिल्लीमा सरकार गठन गर्ने निश्चित भएको छ भने आपका नेता अरबिन्द केजरीवाल मुख्यमन्त्री बन्ने भएका छन् ।

गत वर्ष भएको निर्वाचनमा २८ सीट जितेको आपले कांग्रेस आइको समर्थनमा सरकार बनाएको थियो भने आफ्नो योजनाअनुसार काम गर्न नपाएको भन्दै केजरीवालले ४९ दिनमै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । यसपटक भने आपले अन्य पार्टीहरुलाई धुलो चटाउँदै अनपेक्षित जित हासिल गरेको छ ।

केजरीवालले आगामी शनिबार रामलीला मैदानमा मुख्यमन्त्री पदको सपथ लिने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले दिल्लीमा तीन सीट मात्रै जितेको छ । अघिल्लो चुनावमा भाजपाले ३१ सीट जितेको थियो ।

यसअघि दिल्लीमा लगातार १५ वर्ष शासन गरेको कांग्रेस आइ भने पूरै नामेट भएको छ । भाजपाले मुख्यमन्त्रीको उम्मेदवारको रुपमा मैदानमा उतारेका किरण बेदी आफैंले चुनाव हारेकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको जाँचसमेत मानिएको यस निर्वाचनले मोदी लहरलाई रोकिदिएको टिप्पणी भारतीय सन्चारमाध्यमहरुले गरेका छन् । मोदीले पनि केजरीवाललाई टेलिफोन गरेर बधाइ दिएका छन् ।

केजरीवालले भने ‘पार्टीलाई प्राप्त अपूर्व विजयबाट आफूलाई डर लागेको’ भन्दै कार्यकर्तालाई जितको अहंकार नदेखाउन आग्रह गरेका छन् ।

बिगतका उतारचढाव हरु

मोदी सरकारले दिल्लीको पूर्व मुख्यमन्त्रीको हैसियतमा रहेका आम आदमी पार्टीका नेता अरबिन्द केजरीवाललाई गत जनवरी २६ को गणतन्त्र दिवसको बिशेष समारोहमा आमन्त्रण गरेको थिएन ।

‘उमेर, हैसियत र स्थान’का आधारमा पुर्व मुख्यमन्त्री केजरीवाललाई उक्त दिवसमा नबोलाइएको भनेर सरकार पक्षधर भारतीय जनता पार्टी (भाजपा) का उच्च अधिकारीले जवाफ दिएपछि दिल्लीबासीले तत्कालै पत्तो पाएका थिए-भाजपामा उन्माद पलाएछ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा समेत सम्मिलित बिशेष समारोहमा पुर्व मुख्य मन्त्री शिला दीक्षितदेखि अरु राज्यका मुख्यमन्त्री र उद्योगी, ब्यापारी, कलाकारसहितको १ हजारभन्दा बढीको बिशिष्ट हैसियतमा सहभागिता रहृयो । तर भाजपावृत्तमा ‘एके-४९ मुख्यमन्त्री’ (४९ दिने मुख्यमन्त्री) भन्दै खिसीट्युरी गरिने केजरीवाललाई कुनै अमुक दलको अमुक नेतासरह पनि मान्यता कहिल्यै दिइएको थिएन ।

त्यसमाथि फेव्रुवरी पहिलो साता रामलिला मैदानबाट सुरु भएको दिल्लीको चुनावी र्यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवालतर्फ संकेत गर्दै ‘एक अराजक, बिप्लवकारी र नक्सलबादीसाग मिल्दो’ भनेर टि,प्पणी गरेपछि दोस्रो चरणमा भाजपा संस्थापन पक्षको उन्माद बढेर गएको पुष्टी भएको थियो । त्यसमाथि एउटा अमुक मानिंदै आएको दल र त्यसका नेताका बिरुद्ध स्वयम प्रधानमन्त्री र उनको क्याबिनेटका झण्डै २ दर्जन मन्त्री चुनाव प्रचारको मैदानमा उत्रेको दृष्य त्यति ‘सुपाच्य’ थिएन, न सुहाउादो देखिन्नथ्यो ।

धैर्यताको परिणाम

भारतको राजधानी नयाँ दिल्लीमा भएको विधान सभा निर्वाचनमा आम आदमी पार्टीलाई अत्याधिक बहुमत मिलेको छ। कुल ७० सिट रहेको दिल्ली विधान सभमा आमले ६७ सिटमा विजय हासिल गरेको छ। बाँकी तीन स्थानमा मात्र भारतीय जनता पार्टीले जितेको छ। काँग्रेसले भने कुनैपनि स्थानमा जित्न सकेन।
उता भारतीय जनता पार्टीको तर्फबाट मुख्यमन्त्रीमा अघि सारेकी उम्मेदवार किरण वेदी पनि पराजित भएकी छन्।

उनि कृष्णा नगरबाट निर्वाचनमा उठेकी थिइन्।
उनलाई आम आदमी पार्टीका उम्मेदवार एस के बग्गाले दुई हजारभन्दा बढी मतले हराएका हुन्। कांग्रेसको पचास भन्दा बढी स्थानमा जमानत जफत भएको छ।
चुनावको परिणाम जारी रहदै गर्दा भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीले भाजपाको पराजय स्विकार गर्दै टि्वटरमार्फत आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवाललाई बधाइ दिएका छन्। दिल्लीको विकासमा केजरीवाललाई पुरै सघाउने वचन मोदीले दिएका छन्। यता कांग्रेस अध्यक्ष सोनिया गान्धीले र उपाध्यक्ष राहुल गान्धीले पनि केजरिवाललाई बधाई दिएका छन्।
सामाजिक अभियन्ता अन्ना हजारेले पनि दिल्ली चुनाव मोदीको हार र केजरीवालको जित भएको प्रतिक्रिया दिएका छन्। यसअघि भएको भारतको विधान सभाको चुनावमा २८ सिट जितेको आम आदमीका केजरीवाल ४९ दिनसम्म दिल्लीका मुख्यमन्त्री बनेका थिए। अघिल्लो चुनावमा विजेपीले ३२ सिट जितेको थियो। एकवर्ष अगाडि भएको निर्वाचनमा आम आदमी पार्टीले दोस्रो ठुलो दल बनेर सरकार बनाएको थियो। तर आफूसँग स्पष्ट बहुमत नभएका कारण सरकार बनाउको ४९ दिनमा केजरिवालले राजीनामा दिएका थिए।

सचेत जनता र स्पष्ट नीति

भारतको राजधानी नयाँ दिल्लीमा भएको विधान सभा निर्वाचनमा अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी (आप) भारी मतन्तरले अगाडि देखिएको छ। पार्टी प्रवक्ता आशुतोषले स्थापित राजनीतिक शक्तिहरु कंग्रेस र विजेपीलाई पछि पार्ने आपका दश सूत्रहरु बताए।

१. भ्रस्ट्राचारविरुद्ध लड्न आन्दोलनबाट पार्टीको रुप धारण गरेको आपले मात्र सक्छ भनेर देखाउन सक्यो।

२. दिल्ली विधान सभा चुनावले देखाएको छ कि आपसँग विकासको बैकल्पिक मोडल छ।

३. आपको विजयले सावित गरेको अर्को तथ्य यो हो कि आज जनता इमान्दार राजनीतिका लागि तयार छन्।

४. यो विजय सत्य र इमानको पक्षमा देखिएको जनलहर हो। नत्र पैसा बाहुबलबिना चुनाव जित्ने आँकलन दिल्लीमा यसअघि कसैले गर्दैनथ्यो।

५. हाम्रो सरकार यस्तो हुनेछ जसको मुख्यमन्त्रीदेखि लिएर कसैमाथि पनि औंलो उठाएर भन्न प्रश्न गर्न ठाउँ हुने छैन कि यसले दुई पैसा कमायो भनेर।

६. दिल्लीलाई हामी एउटा यस्तो मोडल बनाउँछौ जसलाई हेरेर संसारले भन्न सकोस् इमान्दारीको विजयी हुन्छ। विकास भ्रस्ट्राचार बिना पनि हुन सम्भव छ।

७. आपको विचारधारा र मोडलले पूरै भारतलाई अपिल गर्दछ। तर दिल्लीभन्दा बाहिर पकड जमाउनलाई केही समय लाग्नेछ।

८. दिल्लीभन्दा बाहिर पञ्जाम हाम्रो लागि अर्को लक्ष्यित प्रदेश हुनेछ। त्यसपछि मध्यप्रदेश, छत्तीसगढ, हिमाञ्चल प्रदेशमा हामीले राम्रो गर्नेछौं।

९. नरेन्द्र मोदीको जस्तो आपले हवाइ वाचा गरेन। आपले विशेषज्ञसँग कुराकानी गरेर दिल्लीको विकासको ब्लूप्रिन्ट तयार गर्यो्। र यसलाई हामी पाँच वर्षभित्र पूरा पनि गर्नेछौं।

१०. हाम्रो दिल्लीका जम्मा दुई पिलर हुनेछन्। पहिलो दिल्ली भ्रस्ट्राचारमुक्त हुनेछ। दोस्रो हामीले दिल्लीलाई संसारको सुन्दर सहरको रुपमा उभ्याउनेछौं।

नेपाल सन्देश;

भारतमा पानी परे पनि अथवा घाम लागे पनि असर महसुस गर्ने नेपाली समाज तथा राजनीतिमा दिल्ली विधानसभाको नतिजाले दिएको सन्देश उत्तिकै विशिष्ट छ । संविधान लेखन र शान्ति प्रक्रिया टुंग्याउने मामिलामा सहमति खोज्न नसकेर कहीं कतै अल्मलिरहेका नेपालका राजनीतिक दलहरूले जनताको राय-अभिमत मनन गर्न नचाहेको वा नसकेको स्थिति देखिन्छ । कुनै राजनीतिक दलमा पुरानो राजनीतिक साख र जनमतको अडान बोकेर बसिरहेको स्थिति अनौठो बनेको छ भने कतै संस्थापन पक्ष बन्न पाएको अहंकारमा दोस्रो राजनीतिक दलको हैसियतलाई पन्छाउन खोजिरहेको स्थिति छ । यो आफैंभित्र बल्झेको द्वन्द्वको छनक पाएर नेपालमा सुरु भइरहेको वैकल्पिक राजनीतिक शक्ति र विचारको जग कुनै दिन दिल्लीको आम आदमीझैं उदाउन नसक्ला भन्न सकिन्न । तर अहिलेलाई भने आफैंभित्रको जुँगाको लडाइँभन्दा जनमतको सम्मानसँगै सहमति र समझदारीको दिशामा नेपालका राजनीतिक दलहरू अगाडि बढ्न सक्नुपर्छ । दिल्ली केन्द्रमा आफूभित्रको एकोहोरो अडान र अहंकारले आज राजनीतिक दृश्य जे-जसरी उल्टिएको छ, यो आम जनताले सम्झाइ-बुझाइ गर्न चाहेको स्थायी पाठ हो । दिल्ली विधानसभाको चुनावी परिणामको सन्देश पनि यही हो

प्रस्तुती: बिजय ज्ञवाली

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button