विशेष

प्रधानमन्त्रीले जन्मदिनमा देश नै काटे त?


बिजय ज्ञवाली//

हाम्रो पूर्विय सभ्यता र संस्कृतिमा जन्मदिनमा केक काट्ने भन्ने प्रचलन नै छैन। हामी हाम्रो जन्मदिनका दिन घरआँगन र मन्दिरमा दियो बाल्ने तथा पुजाआजा गर्ने चलन छ। जन्मदिनका दिन सके मठमन्दिर या घरमैं पुजाआजा गर्ने, आफन्त ईष्टमित्रहरुलाई घरमा आमन्त्रण गरि मिठोमसिनो परिकारहरु बनाएर खुवाऊने, गरिव, असहाय तथा विपन्नवर्गका लागि धेरथोर सहयोग गर्ने, सामाजिक अग्रसरता तथा सहयोगसंगै जन्मदिनको अवसर पारेर केहि नयाँ तथा असल कामको शुरुवात गर्ने हाम्रो प्रचलन हो। तर, अचेल हामी केकमा मैनबत्ती बालेर निभाउने संस्कृतिमा भिजेका छौं। जुन संस्कृतिलाई हामी पाश्चात्य संस्कृति भनेर भन्दछौं, त्यहिं संस्कृतिको परिपालना आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो ६९औं बर्षगाँठको अवसर पारेर आफ्नो पुर्ख्यौली थलोमा धुमधामका साथ मनाऊनुभएको छ।

खासमा जन्मदिनको दिन केक काट्ने प्रचलनलाई खोतल्दैं जाँदा १५औं शताब्दीतिर जर्मन बेकरीले आफ्ना नियमित ग्राहकहरुको खुशीका लागि उनीहरुको जन्मदिनको अवसर पारेर केहि विशेष केकको उत्पादन गरि प्रचारमा ल्याएका थिए भनिएता पनि तथ्यले भने सन् १७४६ ताका जर्मनका प्रख्यात सामाजिक सुधारक निकोलर जिन्जोनडार्फ को सम्मानस्वरुप उनको जन्मदिनमा विशेषप्रकारको केक तयार पारी पहिलोपटक उत्सव मनाईएको थियो भनेर पनि भनिन्छ। साथै अर्को तथ्यले सन् १७०० को सेरोफेरोमा ग्रिकहरूले चन्द्रमारुपी भगवानलाई खुसी पार्नको लागि गोलो केक काट्ने चलन सुरू गरेका हुन् भनेर पनि भनिन्छ। मैनको उज्यालोलाई चन्द्रमाको चमक, अनि मैनको धूँवाले प्रार्थना आकाशको भगवानसम्म पुर्याउछ भन्ने ग्रीकहरुमा आज पनि विश्वास रहिआएको छ। सोहि तथ्य र सन्दर्भलाई आधार मानेर आज विश्वका लगभग सबैजसोले आफ्नो जन्मदिनमा आफ्नो हैशियत र चाहनाअनुसारको बर्थ डे केकसंगै पार्टी पनि मनाऊँदै आएका छन।

हामीले जन्मदिनमा काट्ने केकको ईतिहास भलै हाम्रो सभ्यता र संस्कृतिसंग नमिलेता पनि यसको ईतिहास खोतल्दै जाने हो भने यसमा झनै रोचक तथ्यहरु फेला पर्दछन। युरोप तथा उत्तर अमेरिका जहाँ त्यतिबेला युरोपियन प्रभाव हावी थियो त्योताका नै ती क्षेत्रहरुमा नरम खालका केकहरु उत्पादन गरिसकिएको थियो भन्ने गरिन्छ। यो कुरा सन् १४०० कै हाराहारी हुनुपर्छ भनेर यकिन पुष्टि हुन नसकेता पनि विभिन्न स्रोतहरुमा यो मिति झल्किन्छ पनि। यसका अलावा स्विस सभ्यताको विकाशक्रमलाई पनि केकसंग जोडेर हेर्ने गरिन्छ। हाल हामीले स्विट्जरल्याण्ड भनेर चिनिने तत्कालिन स्विसका ग्रामिण खोंचहरु जतिखेर दूर्गम र अभावपूर्ण वस्ती पनि मानिन्थ्यो, त्यो समयमा अर्धकांचो गोहुँलाई ढुंगाद्वारा पिसेर यसबाट निस्किने सेतो दुधिलो पदार्थलाई छुट्ट्याई बनाईने विशेष प्रकारको रोटि `अखमिरी´ नै कालान्तरमा केक बनेर गएको हो भन्ने पनि ठम्म्याईं छ। हाल अण्डा, मैदा र केहि रासायनिक तत्वहरुद्वारा जस्तो र जुनसुकै आकृतिमा बनाऊन सकिने केकलाई त्यतिखेर स्विस नागरिकहरुले ढुंगामा पिसेर गहुँको सेतो भाग छुट्याईकन बनाऊने गर्दारहेछन। केक शुरुवाती इतिहासबाट आजको युगसम्म आईपुग्दा त विज्ञान र प्रविधिले धेरै ठूलो फड्को पनि मारिसक्यो, अब त नचाहेर पनि जस्तोसुकै रुप, रंग, आकार, प्रकार र संवेदनायुक्त केक उपलव्ध छन।

प्रधानमन्त्रीले जन्मदिनमा देश नै काटे त?

जानाजान होऊस या भुलवस नै किन नहोस- मैले वारम्बार उठाऊंदै आएको प्रश्न पनि हो कि- हामीलाई उग्रराष्ट्रवादले पुर्याऊने चाहिँ कहाँ हो? भलै प्रधानमन्त्रीले आफ्नो रिवाजअनुसार त जन्मदिन मनाऊन सकेनन, लौ भैगो। प्रधानमन्त्री सबैका साझा हुन र हुनु पनि पर्दछ। हाम्रो आस्थाको मन नराखे पनि सम्बन्धित समुदायको त मन राखिदिनुभएको छ। यसलाई यसरि पनि हेरौं। जे होस प्रधानमन्त्रीले जिवनको उत्तरार्धमा आफ्नो जन्मदिन आफू जन्मेको गाऊँघरमैं मनाऊने निर्णय गर्नुभयो, यो एकदमै सकारात्मक कुरा हो। प्रधानमन्त्रीले त्यसरि जन्मदिन मनाएको घरको कुनै मूल्यांकन होला, गाऊँको विकाश होला या स्मरणमा कुनै विधालय, स्वास्थ्यचौकी, रिसर्च केन्द्र या अन्य केहि त अवश्य खुल्ला, बन्ला पनि। यसलाई अत्यन्त सकारात्मक रुपमा हामीले लिनुपर्दछ। कम्तिमा आठराई गाऊँको इतिहास बदलिएला, विकाश पूर्वाधारको आधार बन्ला, स्थानियवासी लाभान्वित होलान, यि भनेका अत्यन्तै सकारात्मक पक्ष हुन। नकारात्मक पक्ष यौटै रह्यो- आठराई गाऊँकै जनताले पचाऊन नसकेको उधुमको तडकभडक।

जिन्दगीभर कम्युनिस्ट सिद्धान्तको राजनिति गर्दैआएका ओलीले नेतृत्व गरेको नेकपाले नै हो क्यारे नेकपा आचारसंहिता जन्माएको। नेकपा आचारसंहिताको बुँदा नं. २ मा जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ भनेर पनि उल्लेख छ। खैर प्रधानमन्त्री ओली यसको बारेमा कत्तिको जानकार हुनुहुन्छ।

जे होस, जस्तोसुकै तिकडम गरेरै भएपनि प्रधानमन्त्री ओलीले आफ्नो ६९औं बर्षगाँठ आफू जन्मिएको पुर्ख्यौली घर तेह्रथुमको आठराई गाऊँपालिकामा बढो भव्यताका साथ गर्नुभएको छ।

तर, जन्मदिनमा पनि प्रम ओली विवादमुक्त र आलोचनामुक्त हुन सक्नुभएन। उहांले ६९औं वर्षगाँठको अवसरमा काट्दै गरेको केकको विषयलाई अहिले सामाजिक संजालमात्र होईन, छापा तथा अनलाईन मिडिया, रेडियो र टिभिसंगै चिया गफमा पनि मसालेदार गफ बनिरहेको छ। चौतर्फी आक्रोश र आलोचनाको सिकार अहिले प्रधानमन्त्री बन्नुभएको छ। जसले गर्दा सायद प्रम ओलीको जन्मदिन नै साह्रै खल्लो पनि महसुस भएको होला।

खासमा उहाँले नेपालको नक्सायुक्त केक काट्नै हुन्थेन भन्ने पनि होईन। जन्मदिनको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले भारतको नक्साअंकित केक काटिसकेका छन भने चीनका राष्ट्रपति सिजिङ्गपिङ्गले पनि चीनको नक्साअंकित केक काटिसकेका छन। त्यस्तै रुसका राष्ट्रपति व्लादिमिर पुटिन र अमेरिकाका पूर्वराष्ट्रपति ओवामाले समेत आफ्नो देशको नक्सा र झण्डासहितको बर्थ-डे केक काटिसकेका छन भने, हाम्रा प्रम ओलीले नेपालको नक्साअंकित बर्थ डे केक काटेर के पो अपराध गरेका छन र?

देशका कार्यकारी प्रमुख हुन, उनको मनले जन्मदिनको अवसरमा नेपालको नक्सारुपी केक बनाउनु भन्ने आदेश पनि दिएका होलान या उनको मनोभावनाअनुसार नै केकको डिजाईन गरिएको पनि होला। जन्मदिनमा नेपालको नक्सारुपी केक काट्दैमा प्रम ओली बदनाम हुनुपर्ने त कुनै कारण नै छैन। दक्षिण भन्नुहुन्छ भने मोदिले काटिसकेका रहेछन, उत्तर भन्नुहुन्छ भने सिजिङ्गपिङ्गले समेत काटिसकेका रहेछन राष्ट्रको अभिभावकको रुपमा। रुसमा पुटिनले, अमेरिकामा ओबामाले।

हामी हिन्दु संस्कृतिका मान्छेले जन्मदिनमा केक काट्ने प्रचलनमाथी राजनिति घुसाऊन खोजे पनि यथार्थमा भन्ने हो भने कसैको भावनामा ठेस चाहिं पुर्याऊनु हुन्न है। काठमाण्डौमा साह्रै प्रदुषण भयो भनेर बिदेशी मिडियाले पृथ्वीनारायण शाहको तस्विरमा मास्क लगाईदिए भने हाम्ले गर्ने के? नेपाल बन्द गर्ने? त्योभन्दा अर्थोक के ल्याकत छैन र हाम्रो?

केकको बारेमा पश्चिमी सभ्यता, संस्कार, जर्मन बेकरीको जनजागरण अभियान र त्योभन्दा पुरानो तत्कालिन स्विस खोंचमा दुखी जीवन जिएकाहरुको योगदान गर्न चाहनुहुन्छ भने यसमा आपत्ति नमान्नुहोस कृपयाँ। हाम्रा पुर्खाहरु पनि काँचो अन्नलाई थिचेर खानुपर्छ, हुँदाहुंदै पकाएर चाहिँ खानुपर्छ भन्ने मानशिकताको ढुंगेयुगबाट गुज्रिएका हुन।

हामीलाई काट्न र निभाऊन नकारात्मक लागे पनि ग्रीक सभ्यता, स्विस संघर्ष र जर्मन बेकरीको जागरण आन्दोलनलाई पनि नभुलौं। परिवर्तनको संघारमा पिडाहरु कति हुन्छन कति।

देशको साझा प्रधानमन्त्री भैसकेपछि उनलाई हामीले कुनै पनि धर्म, संस्कार संस्कृति, रिवाज,परम्परा र अतिवादको दृष्टिले कदापी नहेरौं। सके बुझौं, नसके बिरोधकै लागि बिरोधमात्र पनि नगरौं।

संघियतासहितको समावेशी लोकतन्त्रलाई जब स्विकार गरिन्छ भने प्रधानमन्त्रीको मिश्रित जन्मोत्सवलाई किन स्विकार नगर्ने त?

हामीलाई हाम्रो धर्म संस्कार र संस्कृति जति प्यारो लाग्छ, अन्य धर्मावलम्बीलाई पनि त उनीहरुको धर्म संस्कार र संस्कृति उत्तिकै प्यारो लाग्दो हो। कसैले सम्बोधन गरिदिए पनि हुन्थ्यो भन्ने भान पनि पर्दो हो।

सबै आफूमात्र नखोजौं, अरुलाई पनि खोज्न थालियो भने भोलीका दिनमा तपाईंको आँघनमा अर्को नयाँ साथी तपाईंको प्रीय बनेर आऊनेछ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button