व्यक्ति बिशेष

अझै २०–२५ वर्ष ढुक्कका साथ काम गर्छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गर्ने बताएका छन् । पार्टीको वाग्मती प्रदेश कमिटीले काठमाडौैंमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्षसमेत रहेका ओलीले केही दिनभित्रै मिर्गौला प्रत्यारोपण गर्ने बताएका हुन् ।

१२ वर्षअघि भारतको नयाँ दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले केही दिनअघि सम्पादकहरूकोसँगको भेटमा पनि निकट भविष्यमै पुनः प्रत्यारोपण गर्ने र २०–२५ वर्ष ढुक्कका साथ काम गर्ने बताएका थिए ।

त्यही कुरा दोहोर्‍याउँदै ओलीले प्रशिक्षण कार्यक्रममा भने, “म छिट्टै किड्नी फेर्दैछु । किड्नी फेरेपछि १५ वर्ष ढुक्कले काम गर्न सक्छु ।”

उनले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिरहेको पनि खुलासा गरे ।

“किड्नी फेर्छु । पाँचदिन अस्पताल बस्छु । छैटौं दिनदेखि काम गर्छु । को बिरामी हुँदैन र ! म पनि अलिअलि बिरामी हुन्छु । बिरामी भएका बेला पनि काम गर्ने बानी परेको छ,” उनले भने ।

उनले सरकारले राम्रो काम गरिरहेको भनेर दाबी प्रस्तुत गर्न छुटाएनन् । काठमाडौंका बाटा हेरेर पनि त्यो थाहा हुने अध्यक्ष ओलीको भनाइ थियो ।

पार्टीभित्र मतभेद खोज्दा विनाशको बाटोतिर अग्रसर हुने ओलीको ठोकुवा थियो । कम्युनिस्ट आन्दोलनको विभिन्न कालखण्डमा वैचारिक बहस सुरु गर्दा त्यसले विभाजनको बाटो लिएको उनले बताए ।

“बहस गर्दा स-साना चौका, कसैलाई अध्यक्ष, उपाध्यक्ष, पत्नीलाई महिला विभाग प्रमुख, छोरालाई युवा संगठनको जिम्मेवारी मिल्यो होला तर देशले के पायो त ? वैचारिक शुद्धताको नामको सङ्घर्षले देशलाई के दियो ?” उनको प्रश्न थियो ।

उनले नेकपाले भुलचुकले दुई तिहाइ सन्निकट मत प्राप्त नगरेको बताउँदै सदुपयोग गरिने बताए । तालुका रौं त्यसै नझरेको बताउँदै सङ्घर्ष गर्दागर्दै र देशका लागि केही गरुँ भनेर मिहिनेत गर्दा नै आफू बिरामी परेको बताए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button