सम्पादकिय

कोरोना कहरसंगै मन्त्रीमा आएको परिवर्तनको चेत

अन्तत: कोरोनामुक्त देश नेपाल भनेर चीनका विभिन्न मिडिया तथा सार्वजनिक क्षेत्रहरुमा गरिने भनिएको प्रचारप्रसार हाललाई स्थगित भएछ, औधी खुशी लाग्यो। मन्त्रीज्यूमा ढिलै भएपनि कोरोनामुक्त देश नेपाल भन्ने चेतमा परिवर्तन आएकोमा धन्यवाद त मन्त्रीज्यूलाई दिनैपर्दछ।

यौटा सामान्य मान्छेले पनि बुझिराखेको छ; कोरोना भाईरसले विश्वब्यापी महामारीको रुप लिंदैछ। चीन कोरोनासंग गम्भिररुपमा जुधिरहेको छ। कोरोनाविरुद्धको लडाईंमा उसका हरेक उपायहरु विफल भैरहेका छन। कोरोना अब चीनको मात्र आन्तरिक समस्या नभएर विश्वव्यापी महामारीको स्वरुप बनिसकेको छ। विश्वस्वास्थ्य संगठनले नेपाललगायतका कतिपय देशहरुलाई कोरोनाको उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्दैगर्दा हामीलाई भने भिजिट नेपाल 2020 भव्यरुपमा सफल बनाऊनु नै थियो।

छिमेकी देशबाट फैलिएर विश्वब्यापी संकटको रुप धारण गरिसकेको कोरोना भाईरसको जोखिमबाट नेपाल पनि उच्च जोखिममा छ है भनेर भनिदिन पनि विश्व स्वास्थ्य संगठनकै चेतावनी पर्खिनुपर्ने हामीमा भने कथंकदाचित् कोरोनाको संक्रमण नेपालमा पनि फैलियो भने के कस्तो सुरक्षा संवेदनशिलता अपनाऊने? कहाँ र कसरि कस्तो उपचार गर्ने, त्यसको लागि दक्ष डाक्टर, आवश्यक पुर्वाधार तथा औषधोपचारको जोहो कहाँ,कसरि गर्ने भन्नेमा किन्चित चिन्तातर्फ लागिएन। देशभरि हाल उपलव्ध अस्पतालहरुमध्ये कुन अस्पतालमा के कति अतिरिक्त कोठाहरु छन/ छैनन र कस्तो अवस्थामा छन? नभएको भए केहि थपथाप या जुगाड पो गर्न सकिन्थ्यो कि भन्नेतर्फ हाम्रो ध्यान गएन, वस्, हामीलाई त कुनैपनि हालतमा भिजिट नेपाल 2020 भव्यरुपमा सफल बनाऊनु नै थियो।

कोरोना कहरका कारण विश्वअर्थतन्त्रमा करिब १ ट्रीलियन डलरभन्दा बढिको नोक्सान भैसकेको आँकडा सार्वजनिक भएका छन। विश्वभरि पर्यटन व्यवसाय डामाडोल बनिराखेको छ। घरबाट टुरमा निस्किएकाहरु घर फर्किन डराएका छन भने घरमैं रहनेहरु टुरमा निस्किन डराईरहेको अवस्था छ। चीनसंग विभिन्न देशहरुको जल, थल तथा वायुसेवा सम्पर्क अस्थायी रुपमा स्थगन हुँदा यसको सिधा असर विश्वब्यापारमा परेको छ। अक्सफोर्ड ईकोनोमिक्सलाई आधार मान्ने हो भने यसबर्ष कोरोनाकै कारण विश्वव्यापी आर्थिक बृद्धिको गतिमा १.१ ट्रीलियन डलरले कमी आऊनेछ। चीनमा मात्र होईन विश्वका कतिपय देशहरुमा बहुराष्ट्रिय कम्पनी, बिधालय, सार्वजनिक सेवा क्षेत्रहरु अनिश्चितकालका लागि बन्द भएका छन। कोरोना भाईरसको सामना गर्नकै लागि ऐले विश्व एकजुट भएको बेलामा हामीलाई भने नेपाल कोरोना भाईरसमुक्त भएको प्रचारप्रसार गर्नुथियो।

हामीलाई हाम्रो भिजिट नेपाल 2020 यति भव्य रुपमा सम्पन्न पार्नुथियो, जसको लागि जलिरहेको अष्ट्रेलियामा गएर पन्चेबाजा समेत घन्काईदियौं। कोरोनाको महामारीबाट गुज्रीरहेको चीनका बिभिन्न मिडिया, सार्वजनिक स्थानहरुमा नेपाल कोरोनामुक्त देश हो, नेपाल निर्धक्कसंग घुम्न आऊनुहोस, भिजिट नेपाल 2020 भव्यताका साथ सफल पार्न तपाईंहरुसंगको सहकार्य भनेर प्रचार गर्नकै लागि चीनतर्फ उड्नै लागेका थियौं, बिचमा फ्याट्ट विश्व स्वास्थ्य संगठन बाधक बनिदियो।

विश्व स्वास्थ्य संगठनको चेतावनीपश्चात भिजिट नेपाल 2020 लाई भव्यरुपमा सफल पार्न चीनमा `नेपाल कोरोनामुक्त देश´ भनेर प्रचार प्रसार गर्नलाई हालका लागि स्थगन गर्नुभएकोमा युवा मन्त्री योगेश भट्टराईज्यू धन्यवादको पात्र हुनुहुन्छ। मन्त्रीज्यूमा आएको परिवर्तनको चेतको लागि हार्दिक धन्यवाद !

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button