विचार / दृष्‍टिकोण

म किन राजनिति गर्दिनँ?

डा. मतिप्रसाद ढकाल//

यतिबेला नेपालमा राजनीतिक अन्योल दिनानुदिन बढ्दै गएको छ । आफूलाई राजनीतिक चेतनाबाट पृथक् रहेको ठान्ने व्यक्तिहरू भेट्न मुस्किल छ । सबैले राजनीति गरेको र बुझेको अभिनय गरिरहेका छन् । परन्तु वास्तविक राजनीति गर्न नजान्नेहरूको जमात बढ्दै जाँदा राजनीति शब्दकै अपव्याख्या भएको अनुभूति धेरैलाई हुने गरेको छ । नजानेर राजनीति गर्नुभन्दा राजनीति नै नगर्नु श्रेयस्कर रहेछ भन्ने कुरा थोरैले मात्र बुझेका होलान् र कुनै न कुनै दलविशेषको दास हुन नचाहने व्यक्तिलाई समाजले ‘पेन्डुलम’ को उपाधि दिएर उपहास पनि गरिरहेको होला तर अल्पमतमा परे पनि आफूलाई राजनीतिको दुधे बालक नै ठान्न पाउँदा म निकै खुसी छु । राजनीति गरेर ठूलो बन्ने चाहना ममा कहिल्यै पलाएन र त्यही रहर नपलाएको सम्झना गर्न पाउँदा मलाई यतिबेला निकै प्रसन्नताको अनुभूति भएको छ ।

२०३६ सालमा मैले तनहुँको देवघाटमा दुई कक्षामा पढ्थेँ । त्यतिबेला देवघाटको वज्रयोगिनी प्रा.वि.मा नीलो र पहेँलो रङका कागजहरू भुईंमा फालिएको देखेको थिएँ तर मलाई त्यतिबेला पहेंलो र नीलो रङ पनि झगडा गर्दा रहेछन् भन्ने थाहा थिएन । दमौलीको जलदेवी प्रा.वि.मा तीन कक्षा पढ्दा एक जना साथीको लहैलहैमा लागी कहिलेकाहीँ पढाइ नै छाडेर दमौली बजारतिर जाने र दिनभर उखु खाएर स्कुल बिदा हुने बेलामा घर फर्किने गर्दथेँ । त्यतिबेला दमौलीको मूल सडकमा मान्छेहरूले पूरै बाटो छेकिने गरी मूढा तेस्र्याएको पनि देखेको थिएँ तर त्यसरी बाटो किन रोकिन्छ ? भन्ने कुरा पनि मैले त्यतिबेला थाहा पाउन सकेको थिइनँ । बागलुङको पृथ्वी नि.मा.वि.मा चार कक्षा पढ्ने बेलामा एक दिन स्कुलका केही सरहरूले हामीलाई खै के के नाराहरू भन्न लगाउँदै गाउँ घुमाउनु भएको सम्झना पनि यतिबेला मलाई भइरहेको छ तर त्यसरी किन नारा लगाउनु परेको थियो ? भन्ने कुराबाट म त्यतिबेला अनभिज्ञ नै थिएँ ।

२०४१ सालतिर मैले ललितपुरको महर्षि वेद विज्ञान विद्यापीठमा संस्कृत पढ्थेँ । त्यतिबेला त्यहाँ संस्कृत पढाउने गुरुले एक जना कोइराला थरका साथीसँग ‘तिमीहरू कोशी बेच्नेका सन्तान हौ’ भनेको सुनेको थिएँ तर मलाई त्यतिबेला कोशी कहाँ पर्छ र त्यसलाई कसले बेचेको हो ? भन्ने कुरा थाहा थिएन र थाहा पाउने उत्सुकता पनि जागेको थिएन । २०४३/०४४ सालमा मैले गोरखपुरको गोरक्षनाथ संस्कृत विद्यापीठमा संस्कृतबाट एसएलसी सरहको अध्ययन गर्थें । त्यतिबेला बागलुङको मेरै गाउँमा पढाउने रेशम ढकाल अंकल र दीनानाथ शर्मा (भूपू शिक्षामन्त्री) गुरु पनि बारम्बार त्यहाँ जाने गर्नुहुन्थ्यो भने कहिलेकाहीँ गोरखपुरमा रहेका नेपालीहरू जम्मा भई रातो झन्डा लिएर चर्को चर्को स्वरमा पालैपालो भाषण गरेको पनि मैले सुन्ने गरेको थिएँ तर मलाई पढाउने गुरु र अंकल किन सधैं गोरखपुरमै भेटिनुहुन्थ्यो र गोरखपुरमा रहेका नेपालीहरूले किन रातो झन्डा देखाएर चर्का चर्का कुराहरू गरेका होलान् भन्ने कुरा पनि मलाई त्यतिबेला थाहै थिएन । २०४५ सालको भूकम्प गएको केही दिनपछि म संस्कृतबाट प्रमाणपत्र तह (आइए) पढ्न धरानको पिण्डेश्वर क्याम्पसमा पुगेँ र त्यहाँ पढ्ने बेलामा मात्र मैले ‘राजनीति’ भन्ने शब्द पहिलोपटक सुनेको हुँ । अनि मैले बाल्यकालदेखि देख्तै आएको नीलो र पहेँलो रङ, सडकमा तेस्र्याइको मूढो, कक्षाको पढाइ छाडेर नारा लगाउँदै गाउँको परिक्रमा गरेको, कोशी बेचेको कुरा र रातो झन्डा फहराएर चर्को चर्को कुरा गरेको त सबै राजनीति पो रहेछ भनेर कसैलाई गुरु नथापीकन आफैले बुझ्न पाएँ ।

धरानको क्याम्पसमा पढ्दा मैले सर्वप्रथम ‘अनेरास्ववियु’ भन्ने शब्द सुन्न पाएँ । त्यसले विद्यार्थीहरूको हक र हितको कुरामात्रै गर्दैन, निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध पनि गर्छ भनेर साथीहरूले कुरा गरेको सुनेँ । छात्रावासमा अनेरास्ववियुको एउटा प्रारम्भिक कमिटी थियो । त्यसले हरेक बिहीबार बेलुका कुनै न कुनै कार्यक्रम गथ्र्यो र हरेक कार्यक्रममा सधैं ‘अनेरास्ववियुको झन्डा हो यो, रगतले रङ्गिएको रातो’ भन्ने गीत गाउनुपर्दथ्यो तर मलाई भने त्यो गीत गाउँदा भित्रभित्रै डर लाग्दथ्यो किनकि मैले आफूलाई राजनीतिबाट टाढा राख्न चाहन्थेँ । त्यतिबेला मेरा एकजना अभिभावकले एक नम्बरमा आफ्नो पढाइ, दोस्रो नम्बरमा आफ्नो आर्थिक अवस्था र तेस्रो नम्बरमा मात्र राजनीतिलाई हेर्नुपर्छ भनेर चिठी लेखेको देखेपछि मैले राजनीतिलाई तेसो श्रेणीमा राख्दै आएँ । राजनीतिलाई भन्दा पढाइलाई पहिलो प्राथमिकता दिने मजस्तै अन्य केही साथीहरूले छात्रावास छाडेर डेरा पनि लियौं । फलस्वरूप तुलनात्मक रूपमा हाम्रो डेराको पढाइ राम्रै हुन पुगेछ भन्ने कुरा त्यतिबेलाको वार्षिक परीक्षा परिणामले पनि प्रमाणित गरिदियो । २०४६ सालको जनआन्दोलनमा र प्रजातन्त्रको पुन:स्थापना भएपछिका केही दिनमा भने मेरो रुचि राजनीतिक वातावरणतर्फ पनि मोडियो तर धरानको क्याम्पसमा बढ्ता राजनीति हुने गरेको ठहर गरेर मैले दाङको क्याम्पसमा गई आफ्नो पढाइलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने सङ्कल्प गरेँ ।

२०४७ मा दाङको जनता क्याम्पसमा पुग्दा मलाई मेरा पूर्वपरिचित साथीहरूले ‘अनेरास्ववियुको मान्छे’ भनेर शङ्का गरे तापनि अन्तत: मलाई नेविसंघको सदस्यता लिन बाध्य बनाए । पूर्वपरिचित धेरै साथीहरूसँग सधैं उठबस गरिरहनुपथ्र्यो । त्यसैले राजनीतिमा रुचि नभए पनि मैले आफूलाई नेविसंघको घेरामा राख्न रुचाएँ तर राजनीतिमा मेरो कहिल्यै सक्रियता भने रहेन, सामान्य समर्थनमात्र रÞयो । दाङ पुगेको एक वर्ष नहुँदै म संस्कृत विश्वविद्यालयको खरिदार स्तरको कर्मचारीमा नियुक्त भएँ । कर्मचारीले त राजनीति गर्नु हुँदैन भन्ने मेरो आत्मनिर्देशनले गर्दा आफूलाई क्रमश: राजनीतिशून्य प्राणी ठान्दै जान थालेँ । २०४८ मा स्थायी कर्मचारीमा एक नम्बरमा सिफारिस हुँदा मेरो नेविसंघको समर्थन एउटा संयोगमात्र परे होला तर २०५३ मा अस्थायी सहायक प्राध्यापक पदमा नियुक्त हुने बेला म प्रजातान्त्रिक विचारधाराको समर्थक नभएको भए मेरो नियुक्ति असम्भव नै थियो । प्रजातान्त्रिक विचारधारा अँगाले पनि दलीय राजनीतिको अन्धभक्त कृतदास हुन मेरो प्रवृत्तिले नदिएका कारण म आफ्नै साथीहरूबाट बारम्बार उपेक्षित र प्रताडित हुादै आएँ । त्यही आत्मघाती उपेक्षा र प्रताडनालाई गुरु ठानेर मैले बारम्बार बौद्धिक सङ्घर्षका पाइलाहरू चाल्दै अघि बढ्ने प्रयत्न गरेँ तर जब मेरो योग्यता, नैतिकता र समर्पणभावलाई कुल्चने र आत्मघाती उपेक्षा र प्रताडना मेरा लागि असÞय भयो तब अर्थात् २०७१ भाद्र ९ गतेदेखि आफूलाई कुनै पनि दलविशेषको अन्धभक्त समर्थक बन्ने दुष्प्रवृत्तिको मार्गबाट आफूलाई पूर्णत: अलग्याउने आत्मनिर्णय गरेँ । त्यस किसिमको आत्मनिर्णयलाई अधिकांश साथीहरूले सही र कठोर निर्णय गरेको भनेर समर्थन जनाए भने त्यस किसिमको राजनीतिक मोक्षप्राप्तिबाट मलाई क्रमश: निकै सन्तुष्टि र आत्मबल पनि प्राप्त भयो ।

राजनीतिमा मेरो रुचि नभएकाले त्यसबारे मैले हालसम्म कुनै सैद्धान्तिक पुस्तकहरू पढेको छैन । मैले आफ्नो पाठ्यक्रममा आधारित पुस्तकहरू पढ्दा नीतिकार भर्तृहरिको ‘वाराङ्गनेव नृपनीतिरनेकरूपा’ अर्थात् वेश्याले जस्तै राजनीतिले पनि अनेकौं रूपरङ्गहरू बदलिरहन्छ भन्ने कुरा पढ्न पाएको थिएँ । मैले वेश्याहरूलाई त चिनेको छैन तर नेपालका अधिकांश राजनीतिकर्मीहरूको बानी र व्यवहारलाई हेर्दा वेश्या भनेका यस्तै हुँदा रहेछन् भन्ने कुराको परिचय प्राप्त गर्न मलाई सहज भएको छ । भर्तृहरिको यस कथनले गर्दा पनि मैले जीवनमा राजनीतिक वेश्यावृत्तिबाट आफूलाई सदैव टाढा राख्ने प्रेरणा मिलेको हो । मैले शास्त्री (बीए) मा पढ्दा संस्कृतका कवि माघको शिशुपालवध महाकाव्यको ‘आत्मोदय: पराज्यानिद्र्वयं नीतिरितीयती’ (२।३२) अर्थात् आफ्नो उन्नति र शत्रुको विनाश यी दुई कुरा नै राजनीतिको तत्त्व वा सार हो भन्ने पढ्न पाएको थिएँ । अरूको विनाश गरेर आफ्नोमात्र उन्नति गर्न चाहने राजनीतिक प्रवृत्ति पनि मलाई मन परेन । वर्तमान नेपालका अधिकांश राजनेताहरू आफ्नै मात्र उन्नति चाहेका छन् र जनतालाई विपक्षी वा पराइजस्तै ठानेर व्यवहार गरिरहेको देख्ता मलाई राजनीति गर्न नपाएकामा कुनै पछुताउ छैन ।

विद्यार्थी कालदेखि नै मैले राजनीतिलाई तेस्रो श्रेणीमा नराखेको भए, भर्तृहरिले राजनीतिलाई वेश्यावृत्तिसँग तुलना नगरिदिएको भए र कवि माघले आफ्नै मात्र उन्नति र शत्रुको विनाश गर्नु नै राजनीतिको सार हो भन्ने शिक्षा नदिएको भए राजनीतिक क्षेत्रबाट मैले आफूलाई पृथक् राख्न सक्ने थिइनँ । साथै भीडको पछाडि लाग्नुभन्दा विचार वा अध्ययनको पछाडि लाग्नुपर्छ भन्ने मेरो हठले गर्दा पनि म राजनीतिबाट टाढिएर रहन सकेको हुँ । राजनीतिक आड र भरोसा पाएपछि जस्तोसुकै कमजोर व्यक्ति पनि एकाएक शक्तिशाली बन्न पुग्दो रहेछ भन्ने कुरा सबैले देख्दै र भोग्दै आएका छन् । म एउटा प्राध्यापक हुँ र राजनीतिक शक्तिआर्जन गर्नका लागि माथि धाउन वा चाकडी गर्न थालेँ भने म पनि शक्तिशाली हुनेछु र शक्तिशाली देखिएपछि मैले आफ्नो काम वा कर्तव्य क्रमश: भुल्दै र ठग्दै जानेछु । जसका कारण बिग्रिँदै र भत्किँदै गएको नेपाललाई बनाउने सोच नै पलाउन सक्तैन । तसर्थ मैले आफूलाई राजनीतिक आडमा शक्तिशाली बनाउने प्रयत्न कहिल्यै गरिनँ र आफूलाई अबोध र कमजोर बालक ठानेर आफनो कर्ममा सदैव समर्पित रहँदै आएा । भीडको राजनीति नगरे पनि विचारको राजनीति गर्नका लागि मैले आफ्नो ठाउँबाट लागे पुगेसम्म खबरदारी गरिरहेको छु ।

विशेषत: कान्तिपुर दैनिक पत्रिकामार्फत मैले गरिरहेको खबरदारीलाई देखेर चितवनको सिजर्नी एफएमले आकस्मिक रूपमा मलाई स्टुडियोमा नै बोलाएर २०७२ फागुन २६ गते संवाद कार्यक्रमका लागि भनेर नेपाली काङ्ग्रेसको तेह्रौं अधिवेशनका सन्दर्भमा अन्तर्वार्ताको रेकर्ड गर्‍यो र त्यसलाई भोलिपल्ट प्रसारण गर्ने क्रममा ‘राजनीतिक विश्लेषक’ भनेर मेरो परिचय प्रसारण गर्दा म छाँगाबाट खसेजस्तै भएँ तर समाजको मूल्याङ्कनलाई मैले अस्वीकार गर्न चाहिनँ । मैले गर्ने खबरदारीहरूभित्र सानै भए पनि विचारको राजनीति देखिएछ भने त्यसलाई मैले आफ्नो राजनीतिक यात्रा ठान्न तयार छु, तर भीडको राजनीति मेरा लागि र सुन्दर नेपालको भविष्यका लागि समेत कहिल्यै स्वीकार्य थिएन, छैन र हुने पनि छैन ।
(२०७३ वैशाखमा प्रकाशित ‘चुँदीरम्घामा पुनर्जन्म’ नामक जीवनीपरक निबन्धसङ्ग्रहबाट साभार)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button