सम्पादकिय

सम्पादकीय: आफ्नै नागरिकलाई अलपत्र पार्दै सरकार

कोरोना भाइरस अर्थात (COVID19) को संक्रमणको चपेटामा पर्नसक्ने आशंकामा चीनको वुहान प्रान्तबाट आफ्ना नागरिकको बेलैमा उद्धार गरेर वाहवाही कमाएको सरकारले यतिखेरसम्म आऊँदा भने चरम आलोचनाको सिकार बन्न पुगेको छ। विशेषत प्रवासमा रहेका नेपालीहरुको बारेमा सरकार बिल्कुलै अनविज्ञ र गैरजिम्मेवार रहेको देखिएको छ।

संकटको बेला आफ्ना नागरिकहरुलाई समस्या पर्दा राज्यको भरपुर सहयोग चाहिने बेलामा सरकारले पश्चिम एसियाका खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध लगाउने गरेको निर्णयले यी देशबाट र यी देशमा ट्रान्जिट हुँदै नेपाल फर्किन चाहने नेपालीहरु धेरै ठुलो मारमा परेका छन।

कोरोना महामारी फैलिएसंगै कतिपय देशहरु लकडाऊन समेत भैसकेका छन। त्यसरि लकडाऊन भएका देशहरुमा काम गर्न गएका कतिपय श्रमिक नेपालीहरुलाई तिनिहरु कार्यरत कम्पनीबाट नेपाल फर्काईरहेको छ भने यता तिनै नेपालीहरु सरकारको यस्तो निर्णयसंगै विचल्लीमा पर्ने देखिएको छ।

सरकारले ५५ मुलुक र ती देश ट्रान्जिट भएर नेपाल आऊने एयरलाईन्सहरुमा एयर अरेबिया, फ्लाई दुबई, इत्तिहाद, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजका उडान रोकिने भएका छन । युरोप जोड्ने टर्किस एयरलायन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याथे ड्र्यागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार बिहानदेखि उडान रोकिने भएको छ । त्यस्तै मध्यपूर्वमा उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने भएका छन।

सरकारको यस्तो निर्णयसंगै पूर्वी एशिया, युरोप तथा खाडी मुलुकहरुमात्र होईन अफ्रीकामा कार्यरत नेपालीहरुलाई पनि ठूलो मारमा पारेको छ। अफ्रीकाबाट नेपालसम्म कुनै पनि सिधा उडान नभएकोले अफ्रीकाबाट नेपालसम्म आईपुग्न दुबई, कतार, ओमानलगायतका मुलुकहरुमा ट्रान्जिट भई नेपाल उत्रिनुपर्दछ। भलै सरकारले अफ्रीकालाई नसमेटेता पनि अफ्रीकामा कार्यरत नेपालीहरु भने सरकारको यो निर्णयसंगै चरम मारमा परेका छन। धेरैजसो नेपालीहरु पूर्वी, मध्य तथा दक्षिण अफ्रीकामा पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत रहेका छन। कोरोना महामारीसंगै यसको असर पनि अफ्रीकाको पर्यटन र हस्पिटालिटि क्षेत्रमा सिधै देखिएको छ। विभिन्न देशहरुले युरोप, अमेरिका तथा पूर्वी एशियाबाट हुने उडानलाई बन्द गरेसंगै यहाँका ट्रावल कम्पनी र होटलहरु पनि धमाधम बन्द हुँदै गईरहेका छन। यस्तोमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बिदामा जान भनेता पनि सरकारको निर्णयसंगै त्यस्ता हजारौं नेपालीहरु नेपाल जानबाट वन्चित भएका छन। भोलि मार्च २० तारिखका दिनबाट लागू हुनेगरि गरेको सरकारको निर्णयसंगै पूर्वी अफ्रिकाका तान्जानिया, युगाण्डा, केन्या, नाईजेरियालगायतका देशमा कार्यरत नेपालीहरु घर फर्किनको लागि उडान नपाऊने समस्याबाट चिन्तित छन। अफ्रीकामा पनि बिस्तारै बिस्तारै भुसको आगोझैं फैलिन लागेको कोरोना भाइरसका कारण यहाँ कार्यरत नेपालीहरु पनि कोरोना संक्रमण भैहाल्ने हो कि भनेर चिन्तित देखिन्छन भने अर्कोतर्फ घर फर्किनको लागि राज्यले नै ढोका बन्द गरिदिएपछि कहाँ जाने र के गर्ने भन्नेमा अन्यौलग्रस्त छन।

समस्या नेपालमा आऊनुपूर्व नै सरकारको सावधानी स्वागतयोग्य कुरा हो। तर, अधिकांश विदेशमा रहेका आफ्ना नागरिकको पनि ख्याल राख्नुपर्थ्यो। नेपालीहरु कार्यरत कतिपय कम्पनीहरुले जा जा भन्ने, यता सरकारले ड्याम्मै ढोका थुनेर बस्दा धेरै नेपालीहरुको विचल्ली हुनसक्नेतर्फ चाहिँ सरकारले सोंचेको देखिएन। उडान बन्द गर्ने सरकारको निर्णयसंगै आफ्ना नागरिकका हकमा विकल्पसहितको निर्णय गरिदिएको भए संकटको यो समयमा नेपाल फर्किएर आफ्नै परिवारसंग संगै रहन चाहने अधिकांश बिदेशमा छारिएर रहेका नेपालीहरुले सरकारलाई स्याबासी दिनेथिए। यता घरपरिवारमा आफ्ना छोराछोरी कस्तो अवस्थामा छन भन्ने चिन्ता, उता बिदेशमा रहेका नेपालीलाई घर फर्किन नपाएर पिरलोको स्थिति सृजना हुनेथिएन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button