अर्थ बजार

कोरोनाका कारण बन्द हुन थाले होटल तथा रिसोर्टहरु

कोरोनाका कारण धरासाही भएको पर्यटन क्षेत्रको होटलहरु धमाधम बन्द हुन थालेका छन् । अकुपेन्सीको अभावमा व्यवसाय नभएपनि खर्च धान्ने स्थिति समेत नरहेपछि होटलहरु बन्द हुन थालेका हुन् । काठमाडौंमा मात्र ठूला तीन ५ तारे होटलहरुले बन्द गर्ने घोषणा गरिसकेका छन् ।

बौद्धस्थित होटल हायात, ताहचलस्थित होटल सोल्टी र दरबारमार्गस्थित होटल याक एण्ड यतिले आफ्नो सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् । होटल याक एण्ड यतिले शनिबारदेखि आफ्नो सेवा बन्द गर्ने जनाएको छ । बिहिबार बसको सञ्चालक समितिको बैठकले कोरोनाको संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै होटलको सम्पूर्ण सेवा केहि दिनका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यसअघि नै होटल हायात ६ हप्ताका लागि आफ्नो सेवा बन्द गर्ने बताइसकेको छ । अन्य होटलहरुले समेत क्रमिक रुपमा आफ्नो सेवा बन्द गर्ने जनाइसकेका छन् । यस्तो अवस्थामा आधिकारीक रुपमा होटल एसोसिएसन नेपाल(हान) ले आफ्नो धारणा सार्वजनिक नगरिसकेको अवस्थामा आइतबार संयुक्त बैठक बसेर निष्कर्षमा पुग्ने संघका अध्यक्ष सृजना राणाले बताइन् ।

अहिले सम्म कुन के कति होटलहरु बन्द भए त्यसको जानकारी संघमा आएको छैन । समस्या भएका होटलहरु बन्द भएका होलान् । हामीले त्यस्तो समस्या ग्रस्त(खर्च धान्ने अवस्था समेत नरहेका) होटलहरुलाई स्वःनिर्णय गर्न भनेका छौं ।’ अध्यक्ष राणाले भनिन्, ‘संघको आधिकारी धारणा भने आइतबार बस्ने संघको बैठकले निर्णय गर्ने छ ।’

अध्यक्ष राणाका अनुसार अहिले होटलहरुबाट ७० प्रतिशत कामदारहरुलाई विदामा पठाइसकेको छ । बाँकी ३० प्रतिशतलाई पनि छिट्टै विवादमा पठाइने र होटलहरु बन्द गर्ने निचोड तर्फ होटलहरु पुगेको उनको भनाई छ ।

यदि सरकारले निर्देशन गरेमा तत्काल होटल सेवा बन्द गर्न आफुहरु तयार रहेको राणाले बताइन् । कर्मचारीहरुको तलबको विषयमा भने सरकारले निर्णय गर्नुपर्ने उनको भनाई छ । अहिले होटल व्यवसायीहरु तलवको १२ दशमलव ५० प्रतिशत तलव व्यहोर्न तयार भएको र बाँकी के कति प्रतिशत सरकारले व्यहोर्न सक्ने हो त्यसको प्रवन्ध सरकारले गर्नुपर्ने उनको भनाई छ ।

कर्मचारीको तलवको हकमा होटल बन्द भएपनि हामी व्यवसायीहरु १२.५० प्रतिशत भोग्न तयार छौं । बाँकी १२.५० गरेर सरकारले २५ प्रतिशत पु¥याउने हो कि वा ८७.५० नै सरकारले व्यहोरेर १०० प्रतिशत पु¥याउने हो त्यो सरकारको निर्णय हो ।’ अध्यक्ष राणाले भनिन् ।

यता बिहिबार मात्र एक सुचना जारी गर्दै सोलुखुम्बुको नाम्चेमा सञ्चालित सम्पूर्ण होटल तथा लजहरु बन्द गर्ने निर्णय भइसकेको छ । नाम्चे होटल एण्ड लज एसोसिएसनले बिहिबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि नाम्चेमा सञ्चालित सम्पूर्ण होटल तथा लजहरु अनिश्चितकालका लागि बन्द गर्ने जनाएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button