समाज

भोलीदेखि सार्वजनिक सवारी एक जिल्लाबाट अर्को जिल्लामा जान नपाऊने

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि यस्तो रोक लगाइएको जानकारी दिएका थिए।

प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेअनुसार लामो दूरीका सवारी चलाउन पाउने आज अन्तिम दिन हो।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार कानुनत: २ सय ५० किलोमिटरभन्दा धेरैलाई लामो दूरी भनिने भए पनि हालको परिस्थतिमा त्यसलाई आधार मान्न नमिल्ने बताएका छन।

‘रोगको संक्रमण नफैलियोस् भनेर लामो दूरीको सञ्चालनमा रोक लगाइएको हो। एउटै गाडीमा धेरै जना लामो समय यात्रा गर्दा पनि संक्रमण एउटा व्यक्तिबाट अर्कोमा सर्न सक्छ,’ हमालले भने।

हालको परिस्थितिमा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने सार्वजनिक यातायातमा रोक लगाइने उनले बताए।

‘त्यस्तै उपत्यका बाहिरको हकमा जिल्लाभरि सार्वजनिक यातायात चल्न पायो तर जिल्लाको नाका कटेर जान पाउँदैन,’ उनले भने।

निजी सवारी साधन वा मोटरसाइकल/स्कुटरको हकमा भने हालसम्म कुनै निणर्य नभएको उनले जानकारी दिए।

‘हालसम्म यस्ता सवारी साधन रोक लगाउने कुरा छैन। केही नयाँ निणर्य भयो भने हामी सूचना निकाल्छौं,’ उनले भने।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button