सम्पादकिय

कोरोनाविरुद्धको लडाईंमा सरकारको साथ दिऔं

धन्य नै मान्नुपर्दछ, समग्र विश्व कोरोना भाइरस आतंकले त्राही त्राही हुंदा दक्षिण एशियाको यौटा सानो मुलुक नेपालमा ऐलेसम्म कोरोना भाइरस अर्थात COVID-19 ले प्रवेश नै पाएको छैन। छिमेकि देश चीनको वुहान राज्यबाट फैलिएको कोरोना महामारी युरोप अमेरिका हुँदै पुनश्च: अर्को ठूलो छिमेकी देश भारतसम्म आईपुग्दा अहिलेसम्म हामी भने कोरोनाभाइरसबाट सुरक्षित रहनु समयमैं हाम्रो सावधानीको नतिजा पनि हो।

आशा गरौं, समग्र विश्वलाई त्राही त्राही बनाएको कोरोना महामारी नेपालसम्म अवश्य पनि आईपुग्ने छैन र विश्वमहामारीको चपेटाका बिच पनि हामीले यौटा मानविय सहयोग एवं संवेदनालाई निरन्तरता दिऔं। ठूलो परिणाम र धेरैलाई सहयोग गर्न नसकिएता पनि यस महामारीबाट आक्रान्त छिमेकी र अन्य मित्रराष्ट्रहरुलाई यस अवस्थामा साथ, सहयोग र मनोबलको लागि प्रयास गरौं। हामीले आफ्नो तयारी पनि गरौं। र, दिनसक्नेजति साथ, सहयोग, सद्भाव, हौसला अनि आत्मियता दर्शाऊंदै जाऔं। किनकि समस्यामा परेकोले नै साथ,सहयोग, हौसला र आत्मियता खोज्दछ।

हामी ऐले तत्काललाई कोरोना संक्रमणको चपेटामा छैनौं। यसको मतलव हामी सुरक्षित छौं भन्ने होईन। हावामा फैलिने, बस्तु या पदार्थमा फैलिने किटाणुसंग जोगिन साह्रै गाह्रो हुंदोरहेछ भन्ने उदाहरण विश्व घटनाले देखाईसकेको छ। तैपनि बढो धन्य मान्नैपर्दछ- हामीले बेलैमा उपर्युक्त कदम उठाएका छौं र हामीमा ऐलेसम्म यस महामारीको असर पर्नसकेको छैन। यसको लागि नेपाल सरकारलाई साधुबाद छ।

सरकारले गरेका हरेक निर्णय नागरिकले मानिदिनुहोस संकटको यस घडिमा। बिपत्ति आएपछि पछुताऊनुभन्दा बिपत्ति आऊन नदिनु नै सर्वश्रेष्ठ निर्णय हो। कुनैपनि सरकारले आफ्ना नागरिक समस्यामा परुन भनेर चिताएको हुन्न। आफ्ना नागरिकको सुरक्षा एवं संरक्षण हरेक सरकारको पहिलो दायित्व हुन्छ।

गलत अफवाहको पछाडी नलाग्नुहोस। आधिकारिक समाचारको खोजी गर्नुहोस। आफ्ना नागरिकको सुरक्षा गर्ने पहिलो दायित्व सरकारको हो। तसर्थ सरकारको उद्घोसको अवज्ञा नगर्नुहोस।

कोरोना महामारीको तथ्यांक र समाचार हेर्दा आजसम्म जतिपनि शक्तिशाली राष्ट्र र शक्तिशाली ब्याक्तिलाई पनि कोरोनाले छोडेको छैन भनेपछि यस महामारीलाई हलुका रुपमा नलिनुहोला। विश्वले पीडा भोगेको छ। हामीले भोगिएन भनेर निश्चिन्त नहुनुहोस। दुर्घटना कुनैपनि बेला असम्व्यभावी छ।

आश्चर्यजनक क्षतिका माझ पनि चीनले लगभग कोरोनाभाइरस माथी नियन्त्रण जमाएको छ। आशा छ, यस महामारीका बिरुद्ध अन्य देशहरुले पनि बिजय प्राप्त गर्नेछन। चीनपछि सबैभन्दा वढि आक्रान्त इटाली र स्पेनको लागि सकिन्छ भने आर्थिक या भौतिक सहयोगको अभियान चलाऔं, हाम्रो सानो सहयोगले पनि संकटका बेला मानवता झल्किन्छ। सकिन्न, इटाली र स्पेनको लागि मन शान्तिको लागि प्रार्थना गरौं।

र, अन्त्यमा कृपयाँ, सरकारी नियमलाई कदापी उल्लंघन नगर्नुहोस। आफूले जानेका कुरा अरुमाझ पनि शेयर गर्नुहोस। आफू पनि बांच्नुहोस र अरुलाई पनि बंच्ने प्रेरणा दिनुहोस। तपाईंको सानो गल्तीले भोली महामारीको रुप लिन पनि सक्तछ। कोरोनाबिरुद्धको लडाईंमा सरकारले गरेका हरेक निर्णयलाई अक्षरस पालना गर्नुहोस- किनकि नागरिकको ज्यानधन सुरक्षाको पहिलो दायित्व सरकारकै हो।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button