सम्पादकीय

आपतकालीन सामान खरिदमा पनि भ्रष्टाचार !

“राष्ट्रिय संकटको घडिमा कसैले कालाबजारी गरेको भेटिएमा मलाई सोध्नु पर्दैन, ५ जना साक्षी राखेर काटिदिए हुन्छ” – यो भनाई थियो एकजमानाका चर्चित राणा शाषक पद्मशमशेर राणाको।

राणा शाषनकालमा राणाहरुले उपल्लो तहमा बसेर भलै जतिसुकै ब्रह्मलूट मच्चाएका होऊन, तर कर्मचारी, बिचौलिया र साना ब्यवसायी या ब्यापारीहरुलाई भने कालाबजारी, घूस, भ्रष्टाचार गरेको भेटाए भने चारपाटा मुडेर जुताको माला लगाईदिएर गाऊँ शहर भने मज्जाले घुमाऊँथे। राज्यकोषबाट ब्रह्मलूट पारेर राणाहरुले देशको अथाह सम्पत्ति बेलायत र भारतमा लगेर थन्क्याऊंदा कर्मचारीहरु भने राणाहरुले तोकिदिएकै तलवमा आफ्नो खर्चपानी चलाऊन बाध्य हुन्थे। कर्मचारी तहमा घूस र भ्रष्टाचारको नाममात्र लिएपनि आत्म शुद्धिकरण गर्नुपर्ने अवस्था थियो।

पद्मशमशेरले त्यसो भनेता पनि आफू भने राष्ट्रिय सम्पत्ति दोहन गर्न र अत्यन्त विलाशी जीवन जिऊन भने छोडेनन।

अब पद्मशमशेरले भनेका थिए भनेर नेता, मन्त्री, कर्मचारी, बिचौलिया, कालाबजारी, ब्यवसायीलाई ५ जना साक्षी राखेर उनको नियम मान्न थाल्ने हो भने त सायद यहाँ साक्षी बसिदिने तिनै ५ जनाको साक्षी बसिदिने मान्छे नपाईएला।

भ्रष्टाचार गर्न, कमिसन खान, राज्यदोहन गर्न, राज्यलाई छल्न, कालाबजारी, कर छल्न, विचौलियागिरी गर्न, धम्काऊन, असुल्न, फिरौति लिन, हत्या, बलात्कार, डकैत, तस्करी गर्न त अब यो देशमा यौटा सामान्य कार्यकर्तादेखि लिएर नेता, मन्त्रीसम्म नै परिपक्व भैसके। यसको बारेमा अब यिनिहरुलाई धेरै सिक्न र सिकाऊनु जरुरी नै छैन। कुनैबेलाको चर्चित `बिहारी राजनीति´ मूख्य गरेर गणतन्त्र स्थापनापश्चात नेपालमा झनै मौलाएर गएको छ।

बढो बिष्मयका साथ शिर झुकाऊंदै लेख्नुपर्ने हुन्छ आफ्नो देशका राजनैतिक कार्यकर्तादेखि लिएर कर्मचारी, नेता, मन्त्री हुँदै कतिपय प्रधानमन्त्रीको तहसम्म रहिसकेका ब्याक्तिसमेत यस्ता अनियमिततासंग सिधै जोडिएर आऊंदाखेरि। बढो दु:ख लाग्छ, कतिपय अनियमिततामा प्रधानमन्त्रीको तहसम्म रहिसकेका ब्याक्ति पनि जोडिएर आएका खबर सुन्नुपर्दा। हरेक साना ठुला खरिद या अनियमिततामा कहिलेकाहिं अति विशिष्ठ ब्याक्तिसमेत जोडिएर आऊंने यस्ता समाचारले नागरिकको शिर त सर्लक्कै झुकेर आऊँछ नैं, साथमा देशले समेत बदनामी कमाईसकेको हुन्छ तर यो देशका शाषकहरुको रवैया भने कहिल्ल्यै नबदलिने भयो।

अन्य अवस्थामा हुनेगरेका भ्रष्टाचार र अनियमितताका त कुरै छोडौं। यौटा राष्ट्रिय आपतको बेलामा त कम्तिमा अनियमितता नगर्नू नि? घूस र कमिसनको चक्करमा मान्छेमा हुने मानवियता भन्ने तत्व चाहिँ नबिर्सनुपर्ने हो,जोगाईराख्नुपर्ने हो।

राष्ट्रिय आपतको बेलामा समस्याहरुसंग जुध्न चाहिने आवश्यक सामाग्री खरिदमा पनि मन्त्रीस्तरबाटै भ्रष्टाचार हुन्छ भने कसरि विश्वास गर्न सकिन्छ कि यो देशका मन्त्री, कर्मचारी र नेताहरुले देशमा शुसासन कायम गर्नेछन भनेर।

देश कोरोनाभाइरसका कारण सन्त्रासमा छ। पूरा देश ठप्प छ। आर्थिक सूचांकहरु निरन्तर ओरालो लाग्दैछन। आम नागरिक अस्तब्यस्त छन। घरभित्रै थुनिएका छन। ब्याक्तिको आयआर्जनदेखि देशको आयआर्जन समेत ठप्प हुँदा यता मन्त्रीहरु भने सोझै भ्रष्टाचारमा चुर्लुम्म छन। सरकारले खरिद गरेका ५ सामानमध्ये N95 मास्क, per testing kit, IR Thermometer, protestive googles, disposable gowns मा मात्रै लगभग ५४ करोड ५३ लाख ४३ हजार ३ सय २० रुपियाँ भ्रष्टाचार भएको तथ्यांक सार्वजनिक भएको छ।

राष्ट्रिय संकटको बेलामा मन्त्रीस्तरबाटै सोहि संकटबाट पार लाग्न भन्दै खरिद गरिएको सामग्रीमा भेटिएको यो अनियमितता यदि सत्य हो भने यस्तो अवस्थामा पनि कमिसन र भ्रष्टाचारको षड्यन्त्रको तानाबाना बुन्ने मन्त्रीदेखि लिएर कर्मचारी, ठेकेदार/ ब्यवसायी राष्ट्रका नाममा धब्बा होइनन र?

दुई महिना पहिल्ल्यै आव्हान गरिएको टेन्डरमा १९ वटा कम्पनीले बुझाएका कोटेसनलाई दराजमा थन्क्याएर तीन घण्टाभित्र नयाँ कोटेसन बुझाऊनेगरि सरकारले गरेको टेन्डर आव्हानको नियतमा नै खोट थियो।

तर, राष्ट्रिय संकट र बिपत्तिमा पनि कमिशन/ भ्रष्टाचारमा उन्मत्त हुनखोज्ने मन्त्री, नेता, कर्मचारीहरुको रवैया देखेर सिंगो देशका नागरिक भने लाजले शिर निहुराऊन बाध्य छन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button