थप

कोरोना युगका हामी कोरी मान्छे, भाग-२

प्रकाश पौडेल//

मानवजातीले “क्वारेन्टाइन”लाइ सम्भावित जोखिम वाट आंफुलाइ वंचाउने एक अचुक अश्त्रको रुपमा अर्थ्याउंदै र प्रयोग गर्दै आएको छ।तर आज विज्ञानले जतिसुकै चरमोत्कर्षमा प्रगति गरेको भएतापनि शुरुवाती अवस्थामा यसको जसरी विकास भएको थियो, सिद्धान्तत: त्यसमा खासै नयां आयामहरु थपिएको देखिएन।कोरोना रोगको चपेटामा च्यापिएको वर्तमान मानवजातीले अहिले आएर खाद्यान्नको उपलव्धता, स्वनिर्भरता र त्यसको महत्वलाइ हृदयदेखि नै महशुस गर्ने अवस्थामा पुगिरहेको छ।पृथ्वीको एक तिहाइ व्यापार ठप्प छ।पसलहरु खाद्यान्न विहिन भइरहेका छन।समाचारमा सुनिएअनुसार वेलायत जस्तो विकसीत मुलुकमा समेत मधुमेहका रोगीहरुले पनि विक्री हुन वांकी रहेका गुलीया चक्लेटहरु र पानी खाएर दिन गुजारीरहेका छन।

सन् १३४७ मा सुरु भएर १३५१ सम्म मानवजातीलाइ ब्युबोनिक प्लेग अर्थात ब्ल्याक डेथ भन्ने भयंकर महामारीले तहसनहस पारेको इतिहांस छ । सन् १३४७ को अक्टोबरमा इटालीको सिसिलीस्थित मेसिना बन्दरगाहमा ब्ल्याक सी हुँदै १२ वटा मालवाहक पानिजहाजहरु आइपुग्छन्। जहाज हेर्न जम्मा भएका मानिसले अत्यन्तै डरलाग्दो दृश्य देख्छन।जहाजका अधिकांश यात्रुहरु मरिसकेका हुन्छन् । जतिजना जिउँदै हुन्छन, उनीहरू अन्तिम अवस्थामा पुगेका बिरामी हुन्छन, रगत र पीपले बनेको कालो फिँजले पुरिएका हुन्छन् । मानिसहरुले कुहिंदै गरेकालास र विरामिहरुलाइ वाहिर निकालदछन र सवैलाइ एकै खाल्टोमा गाडीदिन्छन्। त्यो सरुवा रोग थियो, तर तत्कालिन मानवजातिलाइ त्यस रोगको वारेमा थाहै थिएन। त्यस रोगको कुनै ओखती पनि थिएन। रोग तुरुन्तै नजिकका वस्तीहरुमा सल्किहाल्यो। वस्तिहरुमा कस्ता खाले हृदयविदारक दृष्यहरु देखा पर्दै गए भन्ने कुरा यो आलेखको अघिल्लो भागमा भनिसकिएको छ। वांचेका केहि निर्विवेकी, स्वार्थि र निर्दयी मान्छेहरु नजीकै रहेका विरामिहरुको क्रन्दन सुन्न र एक चम्चा पानी समेत दिन तयार नभइ टाढा टाढा जंगल तिर भागेका थिए। तिनै आत्मकेन्द्रित मानविय गुणका वाछिटाहरुको प्रभावले गर्दा आजको मानवजाती आफ्नो प्राकृतिक गुण भन्दा टाढा छ, कृत्रिम छ, परनिर्भर छ, र पुंजिवादी छ।

विगतको ब्युवोनिक प्लेग देखि आजको कोरोना सम्म हामीले व्यहोरेका रोगव्याधी र वालीवस्तुका रोगकीराहरु मुलत: मान्छेको आवजजावत, वसार्इं सरार्इवाटै एक ठांउवाट अर्को ठांउमा सर्ने गरेको पाइएको छ।मान्छेले आफूसंगै व्यापारको लागि लिएर हिंडेका पशु वस्तु र खाद्य सामाग्रीहरुवाटै एक ठांउवाट अर्को ठांउमा महामारी सल्किएका प्रशस्त उदाहरणहरु हामीसंग छन। उन्नाइसौं शताव्दीको मध्यकालमा यूरोपले व्यहोरेको आइरीस फेमिन होस वा दोश्रो विश्व युद्ध अगाडी अमेरिकन जंगलहरुले व्यहोरेको रवर व्लाइट पश्चात ढलेको अमेरिकन व्यापारको एकाधिकार होस, मानव सभ्यतामा ठूलो उथल पुथल पारेका विरुवाका रोग र कीराहरुले पनि युद्ध र विज्ञानलाइ नयां नयां दिशानिर्देश गर्ने गरेका छन।त्यसैले त व्यापारले अभुतपुर्व छलांग मारेको छ। पुंजिवादले उत्कर्ष प्राप्त गरेको छ।

चौघौं शताव्दीमा इटालीको रसुगा वन्दरगाहनै (तत्कालिन भेनीस, हाल क्रोएसीया) एसिया र युरोपको विचमा सिल्क रोडको वाटो हुंदै चल्ने व्यापारको सवैभन्दा ठूलो वन्दरगाह थियो।एसियन र युरोपियनहरुको विचमा हुने सवैभन्दा वढी आवतजावत र कृषि उत्पादनहरुको व्यापारीक ओसारपसार पनि यहि वन्दरगाह वाट हुने गर्दथ्यो।यसरी आवतजावत हुंदा संगसंगै वाली विरुवा र मानिसका रोगहरु पनि युरोप र एसीयामा आवतजावत हुनु स्वाभाविक थियो।त्यसवेला प्रभुको श्रापवाट मात्रै कुष्ठरोग (कोर) लगायतका रोगहरु लाग्दछन भन्ने विश्वाश गरिन्थ्यो।

कोरीहरुलाइ छुन हुंदैन र छुट्टै राखिनु पर्दछ, अन्यथा जसले छुन्छ उसलाइ पनि पाप लाग्ने छ भनि पुरानो वाइवलमा समेत लेखिएको कारणले गर्दा त्यस्ता मान्छेहरुलाइ बवुनिक प्लेगको महामारी भन्दा अगाडीको समय देखि नै छुट्टै राख्ने प्रचलन युरोप भरी नै थियो।

त्यस वेला कोर लगायतको “पाप” वोकेर व्यापारको शिलशिलामा एसीया देखी यूरोप जानेहरुलाइ अन्यन्तै ठूलो दुर्व्यवहार गरिन्थो तर फीर्ता पठाइदैनथ्यो।जव ब्युवोनिक प्लेगको महामारी वाट युरोपियनहरुले अन्यन्तै भयानक मानविय क्षति व्यहोरे। त्यसपछि मात्रै विदेश वाट आउने रोगिहरुलाइ छुट्टै राख्नुपर्दछ भन्ने तर्कहरु आउन थाले।बवुनिक प्लेग पश्चात कुनै पनि महामारी लागेका युरोपका गांउहरुमा आवतजावत गर्ने प्रचलन हराइसकेको थियो। आवतजावत गर्नेहरुलाइ तत्कालिन सेनाले त्यसो गर्न वाट रोक्ने चलन चलिसकेको थियो तर यस सम्वन्धमा कुनै कानुन चाहिं वनिसकेको थिएन।

इसा पूर्व पांचौ शताव्दीमा हिप्पोक्रेटसले भनेका थिए कि कुनै पनि रोगको लक्षण देखिनको लागि ४० दिनको समय अवधि लाग्दछ। त्यसै तर्कलाइ आधार मानेर इटालीमा प्रवेश गर्नेहरुले कुनै रोग लिएर आएका छन भने तिनिहरुलाइ मुलुक प्रवेश गर्नुभन्दा अगाडी ४० दिन सम्म थुनेर राख्नु पर्दछ भन्ने वहस हुन थाल्यो। यसै तर्कलाइ तत्कालिन राजनितिज्ञहरुले रसुगाका रेक्टर समक्ष राखे।अनेक विमर्ष, वहस र छलफलहरु भएपश्चात रसुगाका मुख्य चिकित्सक ज्याकोवलाइ प्राविधिक सल्लाहको लागि वोलाइयो। उनले पनि राजनितिज्ञहरुको तर्कलाइ अनुमोदन गरिदिए, र भने कि विदेशवाट आउने शंकाश्पद मान्छेहरुलाइ शहरवाट टाढा कतै लगेर ४० दिन सम्म थुनेर हेर्नु पर्दछ र कुनै रोगको लक्षण नदेखिएमा मात्रै मुलुक प्रवेश गर्न दिनु पर्दछ।ज्याकोवको सल्लाहअनुसार यदि सामान वोकेर आएका पानिजहाजहरु छन भने तिनले पनि कृषि सामाग्रीहरु मार्फत रोगहरु सार्न सक्ने भएकोले जहाजहरुलाइ चाहिं ३० दिन सम्म डकिंग नगरिकन राखिदिनुपर्दछ भन्ने तर्कलाइ समेत अनुमोदन गरियो।यसरी सन १३७७ मा तत्कालीन इटाली सरकारले ३० दिनसम्म जहाजहरु रोकिदिने (ल अफ टेरान्टा) र ४० दिनसम्म मान्छेलाइ रोकिदिने (ल अफ क्वारेन्टा) कानुन वनायो। इटालियन भाषामा ३० दिन लाइ टेरान्टा र ४० दिनलाइ क्वारेन्टा भनिन्छ।तुरुन्तै दुवै कानुन हरुलाइ मर्ज गरियो र एउटै कानुन “ल अफ क्वारेन्टा” लागु गरियो।यहि क्वारेन्टा भन्ने तत्भब धातुवाट नै आज हामिले प्रयोग गरिरहेको क्वारेन्टाइन शव्द व्युत्पन्न भएको हो।क्वारेन्टाइनलाइ नेपाली भाषामा संनिरोध भनिन्छ। क्वारेन्टा कानुनलाइ सकृयता र निर्ममता पुर्वक लागु गरिएपछि युरोपमा रोग भित्रीने र फैलिने दरमा अत्यन्तै कमि आएको थियो भनि डिपल विश्वविद्यालयका प्राध्यापक मोकाइटिसले लेखेका छन।रोगको संनिरोधमा इटालीले उल्लेख्य प्रगति गरेको देखेपछि अन्य राष्ट्रहरुले पनि क्वारेन्टाइन सम्वन्धि कानुनहरु वनाएर लागु गरेका हुन। मानिस, विरुवाजन्य वस्तु र जनावरको आवतजावतका कारण हुनसक्ने महामारीको ज़ोखिमलाइ कम गर्नकोलागि सम्भावित खतरालाई निश्श्चित स्थानमा निश्चित समयको लागि”होल्ड” गरिनु नै क्वारेन्टाईन गरिनु हो।मानिसको क्वारेन्टाइन, विरुवाजन्य वस्तुको क्वारेन्टाइन (प्लान्ट क्वारेन्टाइन) र एनिमल क्वारेन्टाइन मार्फत गरिने प्रोफाइल्याक्टीक उपायहरु त्यसै समय देखि विकास भएर आजको दिन सम्म आइपुगेका छन।आज भन्दा छ सय वर्ष अगाडी आविश्कार गरिएको क्वारेन्टाइन पद्धतिमा आज सम्म पनि आधारभुतरुपमा कुनै नयां आयाम थपिएको छैन।

“प्रिभेन्सन इज वेटर देन क्योर” भन्ने पदावली नै क्वारेन्टाइनको मुख्य सिद्धान्त हो। समयको गति संगै स्वास्थ्य क्षेत्रमा भएको प्रगतिले गर्दा मानिसलाइ ४० दिन सम्म क्वारेन्टाइनमा राखेर रोगको अध्ययन गरिनु व्यवहारिक हुन छाड्यो त्यसकारण मानिसको क्वारेन्टाइन गर्ने विषयतर्फ खासै ध्यान दिइएन।तर कोरोनावाट आज मानिसलाइ वचाउनको लागि संसारभर त्यहि क्वारेन्टाइनको साहरा चाहिएको छ। यसपटकको क्वारेन्टाइन चाहिं ४० दिने क्वारेन्टाइन हुनेवाला छैन।मानवजातीले अव कतिदिनसम्म ठप्पाठप्पी भएर वस्न सक्दछ हेर्न वांकी छ। उहि ब्युवोनिक युगको जस्तै आजपनि हामी डराइरहेका छौं।रिसाइरहेका छौ। घृणा गरिरहेका छौं।भौंतारिइरहेका छौं।अराजक भएका छौं।हामि स्वार्थी र निर्विवेकी छौं। सन् १९६०को दशकमा पहिलो पटक देखिएको कोरोनाको दोश्रो संस्करणले ब्युवोनिक प्लेगको जस्तै भयंकर रुप लिइरहेको छ।हिजोसम्म विज्ञान र प्रविधिको चरम विकास गरिसकेको फुर्ती लगाउने हामीहरु आज आएर एक्कासी वन्द कोठरी भित्र कैद भएका छौं।अनि हात जोडेर भगवानको प्रार्थना गरिरहेका छौं।हामि अहिले पनि आदिम नै छौं।अहिले मानवजातीसंग कोरोना भन्ने महामारीको विरुद्ध लगाउने कुनै औषधी छैन।सम्पुर्ण मानवजाती किंकर्तव्य विमुढ छ। किसानलाइ हेपिरहेको र आत्मनिर्भरतालाइ हेलां गरिरहेको समग्र अर्थतन्त्रले अव पनि पुंजिवादको वाटो नफेर्ने हो भने हामी कोरोनाहरुवाटै जन्माइएका भोकमरीहरुले समेत सिद्धिने छौं।आजको दिनमा हामीलाइ पुजिंवादको कोर लागेको छ।कोरोना होइन।

(लेखक प्लान्ट क्वारेन्टाइन अफीसर(उपसचिव) तहमा कार्यरत हुनुहुन्छ।)

यो पनि पढ्नुहोस : कोरोना युगका हामी मान्छे – भाग १

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button